हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

मोटरसाइकललाई पनि जोर-बिजोर प्रणाली लागु हुने

काठमाडौं । मोटरसाइकलमा पनि जोर विजोर प्रणाली लागु हुने भएको छ । यसअघि मोटरसाइकलमा जोर विजोर लागु हुने नहुने अन्योल सिर्जना भएको थियो । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले मोटरसाइकल पनि निजी सवारीमा पर्ने भएकाले अन्य सवारीजस्तै जोर मितिमा जोर र विजोर मात्रै सञ्चालन गर्नुपर्ने बताए ।

आजबाट देशभर निजी सवारीमा जोर विजोर प्रणाली लागु भएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने र एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने एसएसपी ढकालले बताए ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

यस्तै अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजे देखि विहान ५ बजेसम्म चलाउन रोक लागाइएको एसएसपी ढकालले जानकारी दिए । सुरक्षालाई मध्यनजर गर्र्दै उपत्यकामा यो नियम लागु गरेको उनले बताए ।कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन ।