काठमाडौं : संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ । योसँगै अब नेपालको संविधानमा बुच्चे होइन चुच्चे नक्सा समेटिने भएको छ। निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभाबाट सर्वसम्मतपारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् । निशान छापमा अंकित नेपालको नक्सालाई नेपालको सीमा अनुकुल परिवर्तन गर्नका निम्ति संविधान संशोधन हुन लागेको हो ।
नेपालको संविधान दोस्रो संशोधन विधेयकको पक्षमा २५८ मत परेको छ । यो प्रतिनिधिसभाको कुल संख्या २७५ को दुई तिहाइ भन्दा बढी मत हो । संविधान संशोधनको विपक्षमा शून्य मत परेको छ ।
प्रतिनिधिसभाबाट संविधान संशोधन प्रस्ताव दुई तिहाइ बढी बहुमतले पारित भएसँगै नेपालको बुच्चे नक्सालाई चुच्चे बनाउन अन्नपूर्ण पोस्ट्ले अगुवाइ गरेको अभियान सार्थक अनि सफल भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा संविधानमा संस्थागत भएको छ। राष्ट्रियता अखण्डताका पक्षमा सिंगो संसद्ले अभूतपूर्वक एकता प्रदर्शन गर्दै उपस्थित सबै दुई सय ५८ सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन् ।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक मत भएका हुन् ।
यसअघि प्रतिनिधिसभामा जेठ २७ गते संशोधन विधेयकमाथि विचार गरियोेस् भन्ने सरकारको प्रस्तावका पक्षमा सबै दल एक भएका थिए। सुरुदेखि नै नयाँ नक्साको निर्णयमा विरोध जनाएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव भने खारेज भएको छ ।
कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभामा दफावार छलफलको लागि राखिएको निशानछापमा मुलुकको नयाँ नक्सा प्रतिस्थापन गर्ने प्रस्तावको पक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन, दुर्गा पौडेल, प्रेम सुवाल, विष्णुप्रसाद पौडेल, डा. शशांक कोइराला, भीमबहादुर रावल, प्रकाशमान सिंह, पम्फा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, गोकर्णराज विष्ट, देवेन्द्रराज कँडेल, देवेन्द्र पौडेल, डा.अमरेशकुमार सिंह, गणेशसिंह ठगुन्ना, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, रामबहादुर विष्ट र लालबाबु पडित धारणा राखेका थिए । सबै सांसदले राष्ट्रियताको विषयमा एकमत हुनु नेपालीको विशेषता भएको उल्लेख गरे ।
Recent Comments