हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

मरुभूमि जस्तो जमिनमा लोभलाग्दो तरकारी

भरतपुर, जेठ ३२ गते । बन्दाबन्दीले कलेज तथा विद्यालय बन्द छन् । विद्यार्थीका गतिविधि पनि ठप्प जत्तिकै छन् । विद्यार्थी नेता निशा अधिकारी भने अहिले पनि तरकारी बारीमा व्यस्त हुनुहुन्छ ।

नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनकी केन्द्रीय सदस्य तथा पूर्व अनुशासन आयोगकी अध्यक्ष अधिकारी विद्यार्थी राजनीतिसँगै आय आर्जनका लागि सामूहिक कृषि कर्ममा जुट्नु भएसगै अहिले तरकारी बारीमा भेटिनु हुन्छ ।

“बन्दाबन्दीमा पनि म धेरैजसो समय तरकारी बारीमै हुन्छु”, उहाँले भन्नुभयो, “कोरोनाको कहर देश नै ठप्प भएपनि हरियो तरकारी भने खानुपर्ने भएकाले पनि उत्पादन गर्नुपर्छ । ” उहाँ तरकारी उत्पादनमा मात्र नभई होम डेलिभरीसमेत गराउनु हुन्छ ।

“बारीमा उत्पादन भएको तरकारी सुरक्षा अपनाएर नारायणगढ, काठमाडांैलगायतका सहरमा कसरी पु¥याउन सकिन्छ भनेर नियमित लागि रहेका छौँ”, निशाले भन्नुभयो । नारायणगढ भरतपुरका हकमा अर्डर अनुसार होम डेलिभरीसमेत गरिएको उहाँले जनाउनुभयो ।

एक दशकदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएकी निशा राजनीति गर्न पनि सबैभन्दा पहिला आर्थिक पाटो बलियो हुनुपर्ने तर्क गर्नुहुन्छ । “राजनीती सेवा हो । सेवा गर्दा मेवाको आश गर्नेबाट अहिले सिङ्गो राजनीतिप्रति नै सर्वसाधरणको वितृष्णा जाग्दै गएको छ”, उहाँले भन्नुभयो, “राजनीतिलाई मूलधारमा ल्याउन पनि राजनीतीकर्मीले राजनीतिसँगै आफ्नो आयआर्जन सुधारका लागि आफै काम गर्नुपर्छ । ”

२०६५ सालमा मैयादेवी कन्या कलेजको स्ववियू सभापतिसँगै विद्यार्थी राजनीति सुरु गर्नुभएकी निशा पार्टी एकीकरण हुनुअघिसम्म अनेरास्ववियूको केन्द्रय समिति सदस्य, अनुशासन आयोगको अध्यक्ष हुनुभयो । अहिले उहाँ अनेरास्ववियूको केन्द्रीय सदस्य हुनुहुन्छ ।

पार्टीको जिल्ला स्तरमा विभिन्न तहमा समेत क्रियाशिल निशा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका सदस्य पनि हुनुहुन्छ । तरकारी खेती र राजनीति अनि समाजसेवा कसरी सक्नुहुन्छ भन्ने प्रश्नमा उहाँको जवाफ छ, “समय मिलाएर गर्न सक्यो भने सवै काम गर्न भ्याइँदो रहेछ । ”