हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

वर्षाका कारण चुनबाङमा लाखौंको क्षति

भूमे- निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका- ९ चुनबाङमा लाखौंको क्षति भएको छ। लाखर खोलामा बाढी आउँदा २५ लाखदेखि ३० लाखसम्मको क्षति भएको छ। बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ।

बाढीले चुनबाङको एकमात्र बसपार्क बगाएको छ। बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए। उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई घट्ट र एउटा गुम्टी पसल बगेका छन्। लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजिकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए।

स्थानीयबासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको छ। यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतिक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ।

चुनबाङमा दाङबाट मात्र सीधा गाडी चल्छ। बसपार्क नै बाढीले बगाएपछि त्यहाँ अहिले पार्किङका लागि अर्को कुनै क्षेत्र नभएको वडाध्यक्ष पुनले जानकारी दिए। शुक्रबारदेखि परेको वर्षाका कारण शनिबार साँझसम्म पनि खोलामा पानीको बहाब नघटेपछि डोजर लगाएर खोला फर्काउने काम भइरहेको वडाध्यक्ष पुनले बताए। बाढीकै कारण गैरीगाउँका केही घर जोखिममा परेको वडा कार्यालयले जनाएको छ। वर्षा सुरु नहुँदै बस्ती नजिकैको खोलामा बाढी आएपछि स्थानीयबासी त्रसित बनेका छन्।