हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

ओलीको बुट पोलिस गर्छु भन्नेलाई सीमामा पालेको जागिर दिन विडारीको आग्रह

काठमाडौँ – राष्ट्रियसभा सदस्य रामनारायण विडारीले आफूलाई बल्ल नेपालमा गणतन्त्र आएको अनुभूति भएको बताएका छन् । नेपालमा पहिलोपल्ट वर्तमान सरकारले क्याविनेट निर्णय गरेर अतिक्रमित भूभाग आफ्नो नक्सामा राख्न सकेको उल्लेख गर्दै उनले बल्ल गणतन्त्रको अनुभूति भएको उल्लेख गरेका हुन् ।

‘अतिक्रमित भूमि आफ्नो नक्सामा समावेश गर्न पनि यो देशमा गणतन्त्र आवश्यक रहेछ । गणतन्त्र नआएर भएन । गणतन्त्र नआइकन हामीले यो काम गर्न सकेनौँ’, उनले भने ।

विगतका सरकारले अतिक्रमित भूमि फिर्ताका लागि गफ गरेर होलान्, कुरा गरे होलान् तर ओली नेतृत्वको वर्तमान सरकारले मात्रै यो काम गर्न सकेकोले अहिले मलाई देशमा गणतन्त्र आएछ भन्ने गज्जबकाे अनुभूति भयो’, विडारीले भने ।

उनले १८१४ देखि १८१६ सम्म हाम्रा पुर्खाहरुले अग्रेज साम्राज्यवादीहरुसँग लडेर ल्याएको भूभाग राजतन्त्रमा गुमेको टिप्पणी गरे । ‘राजतन्त्र र उसका मतियारहरुले विगतमा जे गरे अहिले भनेर काम छैन । ३२ सालअघिसम्म चुच्चे नक्सा बनाकै हो, ३२ साल पछि भाँचेकै हो’, उनले भने ।

अहिले नयाँ नक्सा संविधानमा समेत समेटेर नेपालको भूमि फिर्ता ल्याउन थालिएको अभियानमा भारतीय शासकको पेरोलमा बसेका केही मान्छेहरु बाहेक अरु कसैले पनि विरोध नगरेको उनले बताए ।

भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरे केपी ओलीको बुट पालिस गर्ने अभिव्यक्ति केही मानिसहरुले दिइरहेको बताउँदै उनले त्यस्ता व्यक्तिलाई अब सीमामा पालेको जागिर दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘ती मान्छेहरुको काम त बुट पोलिसै गर्ने हो, अहिले मोदीको गरिरहेका छन् भोलि ओलीको गर्छन्’, विडारीले भने, ‘भूमि फिर्ता आउँछ, ल्याइन्छ, गरिन्छ, जमिन फिर्ता आएपछि ती मानिसहरुलाई बुट पोलिस गर्ने होइन, सीमामा पालेको जागिर दिन प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’ उनले सीमामा रहेका सबै नेपालीहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।