हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

अभिभावक भन्छन्– छोरो कोरोनाले मर्‍यो भनेर कसरी पत्याउने ?

१ असार, वीरगञ्ज । जेठ ३० गते बाराको निजगढबाट ५ वर्षीय बालकलाई सिरियस अवस्थामा एम्बुलेन्समा वीरगञ्ज ल्याइयो । वीरगञ्ज हेल्थ केयर अस्पतालको इमर्जेन्सीमा भर्ना गरियो । दुईपटक गरिएको आरडिटि परीक्षणको रिपोर्ट पोजेटिभ आयो । उपचारको क्रममा बालकको निधन भयो ।

बालकको थ्रोट स्वाबको नमूना लिएर पीसीआर परीक्षण गर्दा भने कोरोना पोजेटिभ देखियो । कोरोना संक्रमणबाट मृत्यु हुनेको सूचीमा उनी पनि थपिए । उनमा कोरोना पुष्टि भएपछि निजगढ क्षेत्र त्रासमा छ । आवश्यक सुरक्षा सतर्कता र सावधानी अपनाउनुको साटो बजार बन्द गरिएको छ । जनजीवन सहज बनाउन अन्यत्र लकडाउन क्रमशः खुकुलो हुँदै जाँदा निजगढमा बजार बन्द गरिएको छ ।

मृतक बालक कम उमेरको मात्रै नभएर स्वयं शारीरिक रुपमा कमजोर थिए । एक्लै घर बाहिर जान नसक्ने । परिवारमा आमा बुवा र उनी मात्रै । निजगढ नगरपालिका–६ माथिल्लो योजना टोलमा घर पनि एकान्तमा नै छ । परिवारका अन्य सदस्यले संक्रमित क्षेत्रमा वा विदेशतिरको ट्राभल हिष्ट्रि पनि नभएको दावी गरेका छन् ।

निजगढ नगरपालिकामा यसअघि संक्रमित भेटिएका थिएनन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा आमा र बुवा मात्रै परेका छन् । उनीहरुको पनि पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको छ । यद्यपि दुवैजनालाई क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

किन र कसरी ल्याइयो अस्पताल ?

बालकका बुवाका अनुसार ०७३ साल वैशाख २९ गते बाबु जन्मेर घरमा खुशी आएको थियो । त्यतिखेर उनी कतारमा ड्राइभिङ गर्दै थिए । ४ वर्षअघि मात्रै स्वदेश फर्किए । तर त्यो हर्ष विस्मातमा बदलिन्छ भनेर उनीहरुले कल्पना नै गरेका थिएनन् । जन्मिएको २५ दिनमै बच्चा निमोनियाले ग्रस्त भयो । सुरुमा चितवनको भरतपुरस्थित एक अस्पतालमा उपचारका लागि लगियो । त्यतिखेरै बच्चाको स्वास्थ्य नाजुक भइसकेको थियो । एक हप्तासम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि स्वास्थ्यमा सुधार भयो । जसरी तसरी बचाइए पनि सामान्य बच्चा जसरी हुर्किरहेको थिएन । हिँडडुल गर्न नसक्ने र बोल्न पनि नसक्ने भयो । छोरोले आमा–बुवा भनेको सुन्न अभिभावकको कान आतुर थियो । तर बच्चाले हातको इसाराले मात्रै केही भन्थ्यो ।

थप उपचार गर्न काठमाडौंको कान्ति बाल अस्पताल पुर्‍याइयो । इमर्जेन्सी कक्षमा राखेर उपचार गरियो । चिकित्सकले अब फेरि स्वास्थ्य स्थिति विग्रियो भने बच्चा बाँच्दैन भन्दै आएका हुन् । तर पनि उनी बाँचिरहेकै थिए ।

कोरोना भाइरसको महामारी र लकडाउनसँग त्यो परिवारको कुनै साइनो थिएन । सानो परिवार, आफ्नो काम र परिवारसँग मात्रै मतलब थियो । एकान्तको घर भएकाले टोलका अरुसँग खासै उठबस पनि भएन ।

जेठ २९ गते बिहीबार दिउँसो तीन बजेतिर बच्चालाई ज्वरो आएको थाहा भयो । बुवा एक्लै बजार गए । छोरोका लागि ज्वरोको औषधि लिएर आए । औषधि खुवाउँदा पनि २० को १९ भएन । साढे ९ बजेतिर अटोरिक्सामा हालेर स्थानीय मेडिकलमा लगियो । मेडिकल सञ्चालकले ज्वरोका लागि १०/१० एमएल ६/६ घण्टामा खुवाउनु भनेर एउटा र अर्को भिटामिन समेत गरी दुईवटा औषधि दिएर पठाए ।

उनले ६/६ घण्टामा त्यो पनि १०/१० एमएल बच्चाका लागि औषधी धेरै भएन र ? भनेर सोधे । ‘पानीपट्टी पनि गर्दै गर्नुस्, ज्वरो घटेन भने ३/३ घण्टामा पनि औषधि खुवाउनुपर्ने हुन सक्छ,’ मेडिकल पसलका सञ्चालकले जवाफ दिए ।

फर्कंदा रातको ११ बजेको थियो । १२ बजेतिर बच्चाको शरीरबाट पसिना आयो । त्यसको आधा घण्टापछि ज्वरो कम भयो । छोरो बिरामी भएको चिन्ताले दम्पती रातभरी सुतेका थिएनन् । बिहान साढे ४ बजेतिर बच्चा एक्कासी काम्न थाल्यो । आमाले जाउलो बनाएर बच्चालाई खुवाइन् । उनले दुई–चार चम्चा भन्दा बढी खान सकेनन् ।

औषधिले नछोएपछि झारफुक गराइयो । स्वास्थ्यमा सुधार आउला भनेको त झन् सास फेर्न गाह्रो भइरहेको थियो । बच्चा घ्यार–घ्यार गरिरहेको थियो ।

त्यसपछि ५ हजार रुपैयाँ बोकेर गाउँकै मणी सरको मेडिकलमा लगियो । उनले बाबुलाई अक्सिजन दिनुपर्छ जतिसक्दो छिटो अस्पताल पुर्‍याऊ भनेर सल्लाह दिए । त्यसपछि अटोमै राखेर निजगढस्थित प्रसूति अस्पताल पुर्‍याइयो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले अक्सिजन लगाइदिए । औषधि दिनका लागि क्यानुला लगाउन खोज्दा नसा भेटिएन । स्वास्थ्यकर्मीले तीन–चार ठाउँमा प्रयास गरे फेला नै पार्न सकेनन् । प्रसूति अस्पतालले अक्सिजनसहितको एम्बुलेन्समा राखेर वीरगञ्जमा लैजान सुझायो । विहान साढे १० बजेतिर वीरगञ्ज हेल्थ केयरको इमर्जेन्सीमा बच्चालाई लगियो ।

इमजेन्सीमा छिर्नेवित्तिकै बुवालाई औषधी किन्न पठाएर स्वास्थ्यकर्मीले बच्चाको नसा खोज्न थाले । बल्ल बल्ल कुहिनाको अगाडि भागमा नसा भेटियो । इमर्जेन्सीबाट आईसीयुमा सार्ने कुरा भयो । रुममा लैजाँदै थिए । ‘पोजेटिभ’ निस्कियो भन्दै स्वास्थ्यकर्मी बाहिर आए । के पोजेटिभ भन्ने अभिभावकलाई थाहा थिएन ।

चिकित्सकले यहाँ राख्न नहुने भयो, अर्को ठाउँमा सिफ्ट गर्नुपर्छ भने । उनीहरुले अहिले पोजेटिभ आएको छ, पीसीआर टेस्ट गरेपछि थाहा हुन्छ पनि भने । त्यसबेलासम्म एसी भएको डिलक्स रुममा लगेर बच्चालाई भेन्टिलेटरमा राखिसकिएको थियो ।

‘हामी छोरालाई हेरेर बसेका थियौं । अपरान्हको ४ बज्नै लागेको थियो होला । एक जना स्वास्थ्यकर्मी आइपुग्नुभयो । उहाँ स्लाइन पानी चेन्ज गर्न खोज्दै हुनुहुन्थ्यो,’ बच्चाका बुवा भन्छन्, ‘छोरालाई यसो हेरेको हलचल नै छैन ? त्यो कुरा स्वास्थ्यकर्मीलाई बताएँ । उनले नै अरु चिकित्सक र स्वास्थ्यकर्मीलाई बोलाएर ल्याए । पौने घण्टा जतिपछि छोरो छैन भन्ने थाहा भयो ।’

अस्पतालले दिएको डेथ सर्टिफिकेटमा साढे चार बजे मृत्यु भएको उल्लेख छ । ‘बाबु सानैदेखि निमोनियाले ग्रसित थियो, घरमा बाहिरबाट कोहि आउँदैनन् । हामी दुईजना मात्रै हो,’ उनी भन्छन्, ‘कोरोना लागेर मर्‍यो भनेर कसरी पत्याउने ? अगाडि नै केही न केही लक्षण त देखिनुपर्ने हो ।’

मेसु उपाध्याय भन्छन्– भाइरल कल्चर नगरी यकिनका साथ भन्न सकिन्न

आमा र बुवाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बालकमा कहाँबाट संक्रमण भयो ? भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सामाजिक सञ्जाल फेसबुकमा यस्तै प्रश्न गरेका छन् । कतिपयले आरटी पीसीआर परीक्षणमा नै शंका गर्न थालेका छन् ।

तर नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्य समुदायस्तरमा संक्रमण फैलिसकेको अवस्थामा यसलाई अचम्म मान्नु नपर्ने बताउँछन् । तर कोरोना भाइरसकै कारण मात्रै मृत्यु भएको भन्न भने नमिल्ने उनको तर्क छ ।

निजगढको ५ वर्षीय बालकको दुईपटक आरडीटी पोजेटिभ आयो । आईजीजी पोजेटिभ थियो । रोग निको भयो भने पनि आईजीजी पोजेटिभ आउन सक्छ । बालकको पीसीआर पनि पोजेटिभ आयो । बुझ्नुपर्ने कुरा के छ भने, कोरोना भाइरस समुदायमा फैलिसकेको छ । त्यो बालकको कोरोना भाइरस मात्रै परीक्षण गर्‍यौं ।

स्वाँ–स्वाँ हुने त भाइरल इन्फ्लुयन्जाले पनि हुनसक्छ । त्यसको जाँच गरेनौं । अरु थुप्रै भाइरस पनि छन् । निमोनिया थियो, सास फेर्न गाह्रो हुन्थ्यो, ज्वरो थियो भने भाइरससँगै अरु इन्फेक्सन पनि हुन सक्छ । साउथ एशियन मुलुकका मानिसको विशेषता के छ भने हामी एउटा मात्रै रोग बोकेर हिँडदैनौं । इन्फेक्सन पनि त्यस्तै हो । हामी ब्याक्टेरियल, भाइरल इन्फेक्सन बोकेर हिँड्छौं ।

उदाहरणका लागि डायरिया, प्रोटोजोवा, भाइरल र व्याक्टेरियाले गराउँछ । नेपालमा त खासै परीक्षण भएको थाहा छैन तर बंगलादेशमा गरिएको परीक्षणमा तीनै जाँच पोजेटिभ पनि देखाएको उदाहरण छ ।

निमोनिया भएकाले उसको रोग प्रतिरोधात्मक क्षमता कमजोर थियो । फोक्सोबाट निमोनियाको पिप निकालेर भाइरल कल्चर गरेनौं । आरटी पीसीआरले मरेको र बाँचेको दुवै भाइरसलाई पोजेटिभ देखाउँछ । अहिलेको हो वा पहिलेको संक्रमण छुट्याउन सकिन्न । संक्रमण भएको १० दिनसम्म मात्रै सार्न सक्छ भनेर विश्व स्वास्थ्य संगठनले नै भनेको छ ।

पोजेटिभ आयो आएन भनेर बुझ्न भाइरल कल्चर गर्नुपर्छ, त्यो नेपालमा यो अहिले संभव छैन । विश्वमा केही ठाउँमा मात्रै अनुसन्धानका लागि यसो गरिन्छ । उपचारका लागि गर्न सकिँदैन, किनकी यसमा निकै समय लाग्छ ।

(डा. उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अंश)