हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

रिपोर्ट नआउँदै करेण्टीनबाट घर पठाइएका १७ जनामा कोरोना देखियो

दाङ – कोरोना भाइरसको पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका दाङ घोराही उपमहानगरपालिकाका १७ जनामा कोरोना पोजिटिभ देखिएपछि स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् ।

घोराही उपमहानगरपालिका १७ को चौघेरा क्वरेण्टीनमा बसेका वडा १३ र वडा नम्बर १७ को प्रावि क्वाडीमा बसेका चार जनामा कोरोना पोजिटिभ भेटिएपछि वडा अध्यक्षले गल्ती गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

घोराही उपमहानगरपालिका १७ को चौघेरा क्वरेण्टीनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । तर उनीहरूमध्ये १३ जनाको रिपोर्ट पोजिटिभ आएको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका हुन् ।

चौघेरा क्वरेण्टीनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पीसीआर टेस्टको लागि स्वाब सङ्कलन गरिएको थियो । त्यसको दोस्रो दिन जेठ २२ गते ६ जनाकाे आरडीटी परीक्षण गरेर घर पठाइयो ।

थप १६ जनाको स्वाब सङ्कलन गर्दा एक हप्तासम्म पनि रिपोर्ट नआएपछि जेठ २८ गते घर पठाइयो । तिनैमध्येका १३ जनामा आइतबार रिपोर्ट पोजिटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएकाहरू जेठ ७, ८ र ९ गते भारतबाट आएका थिए । त्यसैगरी वडा नम्बर १७ को प्रावि क्वाडीबाट घर पठाइएका थप चार जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकाहरूलाई आइतबार रातभर खोजी गरी घोराही १० को अम्राईको आइसोलेशनमा पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा आइतबार नै घर पठाइएका १७ जनामा सङ्क्रमण पुष्टि भए पनि सार्वजनिक गरिएको छैन ।

तर वडा कार्यालयलाई उनीहरुको व्यवस्थापनको लागि आइतबार नै जानकारी दिएपछि वडा सदस्यले आइतबार रातभर खोजी गरी उनीहरूलाई आइसोलेशनमा पठाएका छन् ।

वडाध्यक्ष खुशीराम चौधरीले कसैसँग समन्वय नै नगरि एकल निर्णयकाे आधारमा उनीहरूलाई घर पठाउँदा अहिले आएर समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।