हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

सरकारले लकडाउनको समय दुरुपयोग गरेको काँग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति अनुगमन समितिले सरकारले ८४ दिनदेखि जारी लकडाउनको समय दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महत संयोजक रहेकाे उक्त समितिले कुनै ठोस कार्ययोजना र क्रियाशीलता विना सरकारले लकडाउन लम्ब्याएर लामो समय सत्ता संघर्षमा समय खेर फालेको निष्कर्ष निकालेको हो ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महतले जनतालाई राहत र जीवन रक्षाको दरिलो विश्वास दिलाउनुपर्ने सरकार अत्यावश्यक स्वास्थ्य सामग्री खरिद देखि कोभिड–१९ नियन्त्रणका नाममा भ्रष्टाचारमा लिप्त भएकाे आरोप लगाए ।

उनले भने, ‘दैनिक संक्रमितको संख्या उच्च छ । अहिलेसम्म कोभिड–१९ बाट १९ जनाको ज्यान गइसकेको छ भने ७३ जिल्लामा संक्रमण फैलिएको छ । एक हप्ता अगाडिको तुलनामा २३१२ जना थप संक्रमित भएका छन्। ज्यान गुमाएकाहरुमध्ये अधिकांशको मृत्युपछि कोभिड–१९ पुष्टि भएको हो । क्वारेन्टाइनको अवस्था भद्रगोल छ ।’

सरकार आफैले तयार गरेको सामान्य मापदण्ड पनि क्वारेन्टिनमा लागू नभएको महतले बताए । क्वारेन्टिनमा दुई हप्ताभन्दा लामो समय बस्दा पनि परीक्षण नगरी घर पठाइएको र परीक्षण भएकाहरुको पनि लामो समय रिपोर्ट नआउँदा अन्यौलताको स्थिति निर्माण भएको उनको भनाइ छ ।

उनले भने, ‘कतिपय जिल्लामा कीटको अभावमा परीक्षण नै रोकिएका खबर आइरहेका छन् । क्वारेन्टाइनहरुमा स्वास्थ्य बाहेक अन्य हिंसाका घटनाहरु समेत सार्वजनिक भैरहेका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टिनमा सामूहिक बलात्कार जस्तो जघन्य अपराध हुनु निन्दनीय छ ।’