हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

चौरजहारी घटना: वडाध्यक्षले प्रहरीलाई समेत गुमराहमा पारेको गृहको निष्कर्ष

चौरजहारी घटनामा चौरजहारी वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई समेत गुमराहमा पारेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। गृह मन्त्रालयद्वारा गठित ६ सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदनबारे सोमबार विज्ञप्ति जारी गर्दै सो निष्कर्ष निकालेको हो।

उक्त विज्ञप्तिमा वडाध्यक्ष मल्लले लकडाउनको समयमा नवराज विकलगायत गाउँ प्रवेश गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीलाई गलत ठाउँमा पठाइ गुमराहमा पारेको उल्लेख छ।

उनले प्रतिवादी रहेका टोपबहादुर मल्ल र नेत्रबहादुर मल्ललाई सम्पर्क गरी गाउँ प्रवेश गरेकाहरूलाई नियन्त्रणमा लिने भन्दै उत्प्रेरित गरेको खुलेको छ।साथै, उनले गोइरी औलाका व्यक्तिहरू समेतलाई गलत सूचना दिइ बाटो छेक्न लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘गाउँ छिरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसहरूलाई भेला जम्मा गरेका थिए,’विज्ञप्तिमा उल्लेख गरिएको छ,’झण्डै ४ किलोमिटर टाढा गइसकेका पीडितहरूलाई पिछा गर्दै लखेट्दै ढुङ्गा, मुढा गरी नवराज विक समेत ६ जनाको ज्यान लिनेसम्मको परिस्थिति सिर्जना गरेका थिए।’

गृहले यस प्रकारका घटना दोहोरिन नदिन सरकार संवेदनशील रहेको जनाएको छ।रूकुम पश्चिम चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालिसकेको छ।

वडाध्यक्ष मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछूत गरेको भन्दै तीन वटा कसूरमा मुद्दा दर्ता गरेको हो।

प्रहरीले जाजरकोटका नवराज विक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको हो। हाल २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने पाँच जना अझै फरार छन्।