हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

२४ दिनपछि न्युजिल्याण्डमा फेरि देखियो दुई जनामा कोरोना

न्युजिल्याण्डमा २४ दिनपछि पुन: दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका दुई महिला बेलायतबाट आएका थिए।बिरामी परेका अभिभावकलाई भेट्न उनीहरूलाई बेलायतबाट न्युजिल्याण्ड आउन विषेश अनुमति दिइएको थियो।

उनीहरू जुन ७ मा बेलायतबाट दोहा, ब्रिसबेन हुँदै न्युजिल्याण्ड पुगेका थिए। उनीहरूलाई अकल्याण्डस्थित व्यवस्थित आइसोलेसन होटलमा राखिएको थियो।

जुन १२ मा उनिहरूले वेलिङटनमा आफ्ना अभिभावकको मृत्यु भएको भन्दै अन्त्येष्टिमा जान सिफारिस मागेका थिए। जुन १३ मा उनीहरूलाई वेलिङटन जान दिइएको थियो।

अकल्याण्डबाट उनीहरू निजी गाडीमा वेलिङटन पुगेका थिए। उनीहरूले कुनै पनि सार्वजनिक सेवाहरूको प्रयोग नगरेको स्वास्थ्य विभागका महानिर्देशक डाक्टर एस्ली ब्लुमफिल्डले मंगलबार बताएका थिए। ती महिलाहरूले भेटेको परिवारलाई समेत अहिले आइसोलेसनमा राखिसकेको छ।ती महिलाहरूको परीक्षणका लागि सोमबार स्वाब झिकिएको थियो भने मंगलबार संक्रमणको पुष्टि भएको महानिर्देशक ब्लुमफिल्डले जानकारी दिए।

गत जुन ८ तारिख यता न्युजिल्याण्ड प्रवेश गरेका सबैले अनिवार्य कोरोनाभाइरसको परीक्षण र १४ दिन सम्म आइसोलेसन अथवा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

गत सोमबार न्युजिल्याण्डले आफ्ना अन्तिम संक्रमितको उपचार गरेपछि कोरोनाभाइरबाट मुक्त भएको घोषणा गरेको थियो। तर सबै संक्रमितको उपचार भइसके पनि फेरि बाहिरबाट आउनेहरूमा संक्रमण हुन सक्ने भन्दै तयारी अवस्थामै बसेको थियो। प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले पनि न्युजिल्याण्डमा कोरोनाभाइरस संक्रमितको संख्या शून्यमा झरेसँगै त्यसको खुसियाली मनाएकी थिइन्।

अहिले न्युजिल्याण्डमा लकडाउन खोलिसकेको छ भने सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छैन। साथै सार्वजनिक भेटघाटमा पनि कुनै संख्याको सीमा तोकिएको भने छैन। देशभित्र सबै सेवाहरू खुले पनि नाकाहरू भने खोलेको छैन।