हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

होटलको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण

वीरगन्ज : भारतबाट फर्किएर होटलको क्वारेन्टाइनमा बसेका २ जनामा मङगलबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको आदर्शनगरस्थित कन्ट्री इन होटलको क्वारेन्टाइनमा बसेका मध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कन्ट्री इन होटलको क्वारेन्टाइनमा बसेका वीरगन्ज वडा नम्बर ३ र ४ का २ जना पुरूषको रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु डा.मदनकुमार उपाध्याय पुष्टि गरेका हुन् ।

जेठ २३ गते रक्सौलहुँदै वीरगन्ज आइ पुगेका दुबैजनालाई वीरगन्जको आदर्शनगरमा रहेको कन्ट्री इन होटलमा राखिएको थियो । मङगलबार संक्रमण पुष्टि भएका वीरगन्जर ३ का ३१ वर्षीय पुरूष भारतको नयाँ दिल्लीबाट आएका थिए भने वीरगन्जको वडा नम्बर ४ का २३ वर्षीय पुरूष भारतको बेङ्गलोरबाट आएका थिए ।

संक्रमण पुष्टि भएपछि दुवै संक्रमीतलाई होटलबाट गण्डकस्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको मेसु उपाध्यायले जानकारी दिए। कन्ट्री इन होटलमा अब १६ महिला र १७ पुरुष गरी ३३ जना मात्र रहेको होटलका संचालक हरि पन्तले जानकारी दिए ।मङगलबार २ जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

पर्सामा सोमबार पनि ३ जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आइतबार ५ जना स्वास्थ्यकर्मी, १ एम्बुलेन्स चालकसहित १७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।