हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

पिसिआर मेसिन खरिद गर्न नगरप्रमुख साउँदले दिए पाँच लाख

डडेल्धुरा : डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदले ५ लाख रुपैयाँ सहयोग गरेका छन्।​ दिवगंत दाई दलबहादुर साउँदको स्मृतिमा नगरप्रमुख साँउदले आफू संरक्षक रहेको राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट पिसिआर मेसिन स्थापनाका लागि सहयोग गरेका हुन्। राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन भट्ट र मेनेजर छवि साउँदले ५ लाख रुपैयाँको चेक ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायललाई प्रदान गरे।

नगरप्रमुख साँउदले परशुराम नगरपालिकाका तर्फबाटसमेत पीसीआर मेसिन खरीदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।​ ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा पीसीआर मेसिन खरिदका लागि शुरु गरिएको सहयोग संकलन अभियानमा विश्वका विभिन्न मुलुकमा सुदूरपश्चिमेली समाज र प्रवासमा रहेका सुदूरपश्चिमका अगुवाहरुले साथ दिएका छन्।

सुदूरपश्चिमका ७ पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा कोरोना परीक्षणका लागि पिसिआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान थालिएको हो। केही दिनमा डडेल्धुरामा पिसिआर मेसिन स्थापना गरिने ह्युमानिटी फाउण्डेसनले जनाएको छ।