हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

शिक्षण पेशा छाडेर कागती खेती

काठमाडौं : पूर्वी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागती खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन्। कालिका नगरपालिका–६ जमुनापुरका सिपी अधिकारीले निजी बोर्डिङ र क्याम्पस पढाउन छाडेर पेशागतरूपमा कागती खेती गर्न शुरु गरेका छन्। अधिकारीले आफ्नो एक बिघा र भाडाको एक बिघा १० कठ्ठामा कागती खेती गरेका हुन्।

पाँच वर्षअघि आफ्नो जमीनबाट खेती शुरु गरेका उनले दोस्रो वर्ष भाडामा जग्गा लिएर खेती विस्तार गरेका थिए। अधिकारीका अनुसार पहिलो वर्ष ३५० बिरुवा र दोस्रो वर्ष ६५० बिरुवा रोप्नुभएको थियो । तेस्रो वर्षबाट उत्पादन शुरु भएको हो। अधिकारीले कागती लगाएको तेस्रो वर्ष रु तीन लाख र चौथो वर्ष रु आठ लाख आम्दानी गरिसकेका छन्। यस वर्ष रु १० लाखको कागती बिक्री गर्ने उनको लक्ष्य छ।

असार १५ देखि चैतसम्म उनको कागती बिक्री हुने गर्दछ। यस वर्ष पाँच बिघा थप गर्ने लक्ष्य रहेको भए पनि लकडाउनका कारण सम्भव नभएको उनले बताए। आउँदो वर्ष उनी खेती बिस्तार गर्दै छन्। वर्षमा रु एक लाख ५० हजार देखि दुई लाखसम्म खर्च हुने भए पनि आम्दानी राम्रो हुने गरेको उनको भनाइ छ। कागती लगाउँदा प्रतिबिरुवा रु १८५ मा खरिद गरेपछि पछिल्ला वर्षहरुमा गोडमेल र औषधि उपचारमा मात्र खर्च हुन्छ।

भाडाको जग्गाको वार्षिक प्रति कठ्ठा रु तीन हजार तिर्नुपर्ने हुन्छ । विज्ञानमा स्नातक गरेका अधिकारीका लागि पढाउन जहाँ कहीँबाट बोलाउने गरिन्थ्यो। त्यसो त ट्युसन, कोचिङमा पनि राम्रो आम्दानी हुन्थ्यो तर ती सबै छाडेर शुरुमा बाख्रा पाल्दा त्यति सफल हुन नसकेपछि उनले कागती खेतीमा हात हालेको बताए। सत्र वर्ष शिक्षण पेशाको अनुभव सँगालेका उनी यतिबेला कागतीको अध्ययन–अनुसन्धानमा पनि व्यस्त छन्।

कागतीको बिरुवा उत्पादन गर्ने तयारीमा उनी जुटेका छन्। भारतीय कागती नेपाली बजारभरि हुने तर हामी बाँझो खेत र खाली हात बसिरहेको भन्दै उनले मेहेनत ग¥यो भने यहीँ मनग्य आम्दानी हुने बताए । चितवनको बजारमा मात्र एक सातामा २० टन भारतीय कागती बिक्री हुने उनको भनाइ छ। कालिका नगरपाकिलामा १० जनाले व्यावसायिक कागती खेती गरेका छन्।

जिल्लामा यो सङ्ख्या ५० हाराहारी रहेको छ। यहाँ १०० बिघामा कागती खेती भएको अनुमान छ। प्रतिकिलो रु १०० देखि २०० सम्ममा कागती बिक्री हुने गर्दछ । भारतीय कागतीको प्रभाव, यहाँका किसानले अनुदान नपाउनु, प्राविधिक सहयोग नहुनुजस्ता कारण काममा कठिनाइ हुने गरेको अधिकारीले बताए। उनले भने, ‘स्वदेशमै बसेर आफैँले मेहेनत गर्न सकेमा यहीँ सफलता हासिल गर्न सकिन्छ।’

आफूले पाँच वर्षमा सिकेको ज्ञान बाँड्न तयार रहेको भन्दै उनले कागती खेती गर्नेहरुलाई सहयोग गर्न इच्छुक रहेको बताए। सोही क्षेत्रका पत्रकार शिशिर सिम्खडाले अधिकारी नमूना कृषक भएको बताए। नपढेकाहरुले मात्र होइन पढेकाहरुले पनि कृषिकर्ममा लाग्नु पर्छ भन्ने उदाहरण उनले दिएको बताए। राज्यले सहयोग गर्न सकेमा नेपालमा नै कागतीमा आत्मनिर्भर बन्न सक्ने उनको मेहेनतले देखाएको सिम्खडाको भनाइ छ।

रत्ननगरमा रेडियो कक्षा शुरु : पूर्वी चितवनको रत्ननगर नगरपालिकाले विद्यार्थीलाई रेडियो कक्षा शुरु गरेको छ । लक डाउनका कारण विद्यालयमा पठन पाठन गराउन सक्ने अवस्था नरहेपछि वैकल्पिक शिक्षाका रूपमा नगरपालिकाले रेडियो मार्फत विद्यार्थीलाई पढाउनु शुरु गरेको हो। रत्ननगरका प्रमुख नारायण वनले रेडियो अर्पणको स्टुडियोमा रेडियो कक्षाको शुभारम्भ गरेका हुन्।

सो अवसरमा उनले नगरको शैक्षिकस्तर खस्किन नदिन रेडियो कक्षा शुरु गरिएको बताए । मुलुकमा लकडाउन शुरु भएपछि अनलाइन कक्षा सञ्चालनको होडबाजी चलेको थियो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पहुँच इन्टरनेट र सुविधायुक्त मोबाइलमा नहुने भएकाले रेडियो कक्षा शुरु गरिएको उनले बताए। पहिलो चरणमा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीका लागि रेडियो कक्षा शुरु गरिएको हो।

पहिलो चरणमा कक्षा ८ को नेपाली, अङ्ग्रेजी र सामाजिक विषयको कक्षा शुरु भएको छ। पहिलो चरणको रेडियो कक्षाको प्रभावकारिता मूल्याङ्कन गरी अन्य कक्षाको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए। जिल्ला मै रेडियो कक्षा सञ्चालन गर्ने गरी अन्य पालिकासँग पनि सहकार्य गर्ने प्रयास भइरहेको वनको भनाइ छ। रत्ननगरमा २९ सामुदायिक र २४ संस्थागत विद्यालय रहेका छन्।