हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

सुदूरपश्चिमका स्थानीय तहले आफैं किन्ने भए पिसिआर मेसिन

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढिरहेका छन्। बुधबारसम्म त्यहाँ ३४२ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। भारतबाट आएका हजारौं मानिसहरू अहिले पनि क्वारेन्टिनमा छन्। उनीहरूमा संक्रमण छ कि छैन थाहा पाउन पिसिआर मेसिनबाट परीक्षण गर्नुपर्छ।

तर प्रदेशभरि एउटामात्र प्रयोगशाला छ। प्रदेशका ९ जिल्ला स्वाब परीक्षण गर्न धनगढीको प्रयोगशालाई हम्मेहम्मे भएपछि स्थानीय तहहरूले आफैं पिसिआर मेसिन किन्ने भएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका, बझाङ र बाजुराका स्थानीय तहले पिसिआर मेसिन किन्ने निर्णय गरेका छन्।भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गर्ने निर्णय गरी प्रक्रियासमेत अगाडि बढाइसकेको छ।ऐनअनुसार ‘इ-बिडिङ’मार्फत मेसिन खरिद गरिने भीमदत्तका मेयर सुरेन्द्र बिष्टले जानकारी दिए।

विज्ञका सुझावअनुसार २५ दिनभित्र मेसिन सञ्चालनमा आउने गरी प्रक्रिया थालिएको उनो भनाइ छ। नगरपालिकाले किनेको मेसिन महाकाली अस्पताल वा भेटेरिनरी अस्पतालमा जडान हुनेछ।

‘जनशक्तिका लागि अस्पतालका ल्याब टेक्निसियन प्रयोग गरिने सहमति भएको छ,’ मेयर बिष्टले भने,’आवश्यक पर्ने परीक्षण किटको व्यवस्था भने प्रदेश र संघ सरकारले जसरी पनि गर्नुपर्छ। जिम्मेवारीबाट माथिल्ला सरकार भाग्नै मिल्दैन।’उता बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिले बजेट दिएर जिल्ला अस्पतालमा पिसिआर मेसिन किन्ने भएका छन्।

असार १ गते बैठक बसी गाउँपालिकाहरूले १०/१० लाख, नगरपालिका र जिल्ला समन्वय समितिले १५/१५ लाख गरी एक करोड ४५ लाख रकम जम्मा गर्ने सहमति भएको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए।

‘पालिका र समन्वय समितिबाटै खरिद समिति बनाएर असारको पहिलो साता टेण्डर गर्ने तयारी बझाङका स्थानीय पालिकाको छ,’ उनले भने। अस्पतालमा निर्माणधीन आवास भवनमा प्रयोगशाला बनाइने जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट सन्दीप वखेडाले बताए।

‘पिसिआर मेसिन किन्ने भन्ने कुरा भएको छ, अस्पतालले सहजीकरण र प्रयोगशाला सञ्चालन गर्नेछ। त्यसका लागि अस्तालमा भएकामध्ये २ जना जनशक्ति कोरोना परीक्षणका लागि दिने र थप एक जना अफिसर लेभलको कर्मचारीको खोज्ने काम भइरहेको छ,’ उनले भने।बझाङका स्थानीय तह मेसिन खरिद र अस्पतालबाट सञ्चालन गर्न तयार भए पनि परीक्षण किटका लागि भने के गर्ने भन्नेमा प्रष्ट छैनन्।बाजुरामा पनि किट र जनशक्ति अभाव छ।

बुढीगंगा नगरपालिकाले पनि पिसिआर किन्न भनेर ३० लाख जुटाएको थियो। तर त्यतिलेमात्र नपुग्ने भएपछि अरू ८ वटा पालिकासँग मिलेर किन्ने निधोमा पुगेको मेयर दीपकविक्रम शाहले बताए। उनका अनुसार मेसिन खरिद गर्न अझै समय लाग्ने छ। खरिदपछि जिल्ला अस्पताल बाजुरासँग समन्वय गरेर मेसिन सञ्चालन गर्ने कि भन्ने सोच भएको पनि शाहले बताए।

मेसिन किनेर कसरी चलाउने भन्नेमा समस्या रहेको उनले बताए।’मेसिन खरिद गरेरमात्रै नहुने भएकाले सम्भावना हेरेर सञ्चालन कसरी गर्ने भन्ने छलफल जुटिरहेका छौं,’ उनले भने। जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट रूपचन्द्र विश्वकर्माले पिसिआर सञ्चालन गर्नु पर्ने अस्पतालमा चाहिने जनशक्ति नभएको बताए। ‘किट र जनशक्ति व्यवस्थापन भए खरिद गर्ने भनिएका मेसिन सञ्चालन गर्न सहज हुन्थ्यो,’ उनले भने।