हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

सेती अस्पतालको भेन्टिलेटरमा उपचाररत संक्रमितको अवस्था जटिल, काठमाडौं पठाउने तयारी

धनगढीस्थित सेती प्रादेशिक अस्तालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको स्वास्थ्य अवस्था थप जटिल भएको अस्पतालले जनाएको छ।भेन्टिलेटरमा उपचाररत उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए। उनलाई हवाइ उद्दारमार्फत काठमाडौं पठाउन अस्पतालले प्रदेश सरकारसँग पहल गरेको छ।

‘उहाँको स्वास्थ्यमा सुधार आएको छैन। समस्या स्थिर र थप जटिल भएको छ। त्यसैले काठमाडौं रिफर गर्ने भनेका हौं,’ श्रेष्ठले भने। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विरामीलाई काठमाडौं पठाउन साधन नमिलेको बताए।

उनले भने, ‘काठमाडौं पठाउनलाई साधन मिलिरहेको छैन। हामी त्यसमै जुटिरहेका छौं।’गत जेठ ३२ गते उनमा संक्रमण पुष्टि भएको थियो। त्यसअघि नै उनी धनगढीकै एक निजी अस्पतालमा भर्ना भएका थिए। पछि संक्रमण पुष्टि भएपछि उनलाई सेती अस्पतालमा भर्ना गरिएको हो।

श्रेष्ठका अनुसार राति १२ बजे ल्याइएका उनलाई सुरुदेखि नै भेन्टिलेटरमा राखिएको थियो। सो दिनदेखि नै संक्रमित पुरुषको स्वास्थ्यमा सुधार आएको छैन।

गोदावरी नगरपालिका ४ निवासी ४६ वर्षीय उनी पेशाले बस चालक हुन्। अस्पतालका अनुसार उनी भारतीय नाका हुँदै आएका मानिसलाई बसमा क्वारेन्टिन स्थलमा पुर्‍याउने काम गर्थे।