हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

ओमानबाट १४७ नेपाली काठमाण्डौ आइपुगे

काठमाण्डौ – ओमानबाट १४७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । सलाम एअरको फ्लाइट नम्बर ओभी ४२७ मार्फत ११० जना पुरुष र ३७ जना महिला लिएर जहाज केहीबेरअघि काठमाण्डौमा अवतरण गरेको हो ।

उनीहरु विमानस्थल र होल्डिङ् सेन्टर हुँदै सिधै होम क्वारेण्टीनमा जान पाउनेछन् । ओमानमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सलाम अएरमार्फत स्वदेश फर्काइरहेको छ । दूतावासका कर्मचारी र राजदूत आफैं स्वदेश फर्कने नेपालीको विदाइका लागि विमानस्थल पुगेका थिए ।

दूतावासले सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ओमानबाट नेपालीलाई स्वदेश फर्काएको छ । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार ४ सय २३ रुपैयाँ तोकेको छ । यो भाडादर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो ।

सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ८१६ रुपैयाँ हो । यसअघि असार एक गते पनि १६६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

योसँगै ओमानमा समस्यामा परेका सबै नेपाली स्वदेश फर्किएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो । उहाँकाअनुसार आवश्यक परेका मात्रै थप उडान हुनेछ ।