हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

डडेल्धुरामा एकै दिन ८३ जना संक्रमित थपिए

डडेल्धुरामा एकै दिन ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार ८३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाको गन्यापधुरा गाउँपालिकाका ४०, परशुराम नगरपालिका २२ जना र अजयमेरु गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।

१७ जनाको भने स्थानीय तह नखुलेको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रशाद भट्टले जानकारी दिए। गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार ४० जना मध्ये वडा नम्बर १ मा १ जना, २ मा २१ जना, वडा नं. ३ मा २ जना, वडा नं. ४ मा १५ जना, वडा नं.५ मा १ जना रहेका छन्।

उनीहरू सबैको जेठ १९ गतेदेखि २९ गतेसम्म स्वाब संकलन गरिएको थियो। संक्रमित ४० जना नै होम क्वारेन्टाइनमा रहेको गन्याधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए । क्वारेन्टाइनबाट घर पठाएपछि उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।

अजयमेरु गाउँपालिका वडा नं. २ का ३ जना र १ का १ जना रहेको अजयमेरु स्वास्थ्य शाखाले जनाएको छ। उनीहरूमध्ये ३ जना सहश्रलिङ मावि र १ जना बाल कल्याण माविको क्वारेन्टाइनमै छन् । २२ जना परशुराम नगरपालिकाका भएपनि स्वास्थ्य शाखाले वडा नम्बर कतिका हुन भन्ने छुट्याउन बाँकी रहेको जनाएको छ। योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या १२२ पुगेको छ।