हाम्रो देश
१४ कार्तिक २०७७, शुक्रवार

सिन्धुपाल्चोकमा १८ कोरोना संक्रमित थपिए

सिन्धुपाल्चोकमा एकै दिन १८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला जनस्वास्थ्य प्रमुख डा. दुर्गादत्त चापागाइँले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका १८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

‘१८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयबाट बिहीबार राती हामीलाई जानकारी आएको छ,’ उनले भने । मेलम्ची क्षेत्रीय क्वारेन्टाइन र बाहुनेपाटी क्वारेन्टाइनमा रहेका १८ जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको हो । संक्रमित सबै जिल्ला बाहिरबाट आएका हुन् । संक्रमित ९ जना कुवेतबाट आएका महिला हुन् । पाँच जना दोलखा र चार जना भोजपुरबाट आएका हुन् ।

भोजपुरबाट आएका चारैजना भारतबाट भोजपुर हुँदै आएका थिए । संक्रमित १८ मध्ये नौ मेलम्ची नगरपालिका, चार हेलम्बु र पाँच जना पाँचपोखरी थांपाल गाउँपालिका निवासी हुन् ।

यसअघि जिल्लामा मृत्यु भएकी बाह्रबिसेकी एक महिलासहित ६ जनामात्रै संक्रमित थिए । संक्रमितमध्ये चौताराका एक युवाको चौतारा अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यालय चौताराले जनाएको छ ।

१२ स्थानीय तहमध्ये ६ मा कोरोना संक्रमित भेटिएका छन् । तर, सबै संक्रमित विदेश र जिल्ला बाहिरबाट आएको हुनाले समुदायमा भने फैलिई सकेको छैन । जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईँले जिल्लामा कोरोनाको संक्रमण समुदायसम्म फैलिई नसकेको बताए ।

प्रतिकृया दिनुहोस्