दाङ : कपिलवस्तु कृष्णनगरकी २७ वर्षीय एक कोरोनाभाइरस संक्रमित महिलाले बच्चा जन्माएकी छन्। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान करिब ६ बजे ती महिलाले शिशुलाई जन्म दिएकी हुन्। प्रसुतीमा संलग्न रहेका डाक्टर मलेन्द्रप्रसाद कुसबाहाले महिलाको शल्यक्रियामार्फत् बच्चा जन्मिएको बताए।
उनकाअनुसार ती महिला शुक्रबार राति करिब १ बजे अस्पताल आइपुगेकी थिइन्। ‘शिशुको तौल दुई किलो चार सय ग्राम छ। आमा र शिशुको स्वास्थ्य सामान्य छ,’ उनले भने। पेट दुखेको बताएकी महिलालाई रूपन्देहीको भीम अस्पतालले रिफर गरेको थियो।
ती महिला एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टिनमा थिइन्। पिसिआर परीक्षण गर्दा जेठ ३० गते उनमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवन्ध निर्देशक डाक्टर सुरेशकुमार कनौडियाले बताए।
नेपालगन्ज मेडिकल कलेजलाई सरकारले कोभिड– १९ को लेभल थ्री अस्पतालमा राखेको हुँदा सरकारी निर्देशिका अनुसार रुपेन्देहीबाट सुत्केरी गराउन ती महिलालाई नेपालगन्ज ल्याउनु परेको कनौंडियाको भनाइ छ।
उनकाअनुसार शिशु र आमाको पुन: स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आइसकेको छैन। रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गरिने र पोजेटिभ आए कम्तिमा थप १४ दिन अस्पतालमै राखिने उनले बताए।
Recent Comments