हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

आज वर्षकै लामो दिन !

आज २१ जुन वर्षकै लामो दिन हो । सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल उत्तरी गोलार्द्धमा पर्छ ।सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले उत्तरी गोलार्द्धमा २१ जुनमा दिन लामो हुन्छ ।

शास्त्रको अनुसार नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समयअनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ । सामान्यतया जुन २१ मै लामो दिन पर्नेभए पनि अन्तराष्ट्रिय समयअनुसार जुन २०, २१ या २२ मध्ये कुनै एक दिन लामो दिन पर्ने सम्भावना हुन्छ ।

त्यस्तै अाज नेपाली आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दै छ। वरिष्ठ खगोलविद सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौंको आकाशमा ८८ प्रतिशतसम्म सूर्य ढाकिनेछ। सुदूरपश्चिमको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यले बताए।

सूर्य ग्रहण ग्रहण नेपाली समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा सुरु भई अपराह्न २ बजेर २४ मिनेटमा सकिनेछ। आचार्यले भने, ‘१२ बजेर ४१ मिनेट जाँदा सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ। त्यतिबेला वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ।’

यति लामो समय (साढे ३ घण्टा) सम्म सूर्य ग्रहण विरलै देखिने आचार्यले बताए। उनका अनुसार नेपालबाट अब यस्तो सूर्य ग्रहण ४४ वर्षपछि मात्र देखिनेछ।

कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने खगोलविद् आचार्यले बताए।

सूर्य ग्रहण हेर्न चाहने सर्वसाधारण तथा विद्यार्थीलाई तक्षशिला एस्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित तक्षशिला कलेजको छतबाट निः शुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको उक्त कलेजले जनाएको छ।