चिनियाँ सैनिकहरूले लद्दाखमा रहेको पांगोङ त्सो क्षेत्रको लगभग आठ किलोमिटरको भारतीय भूभागमा कब्जा गरेको भारतले आरोप लगाएको छ । गत मे महिनाको आरम्भमा त्यहाँ पुगेका चिनियाँहरूले रक्षा संरचना र बंकर समेत बनाएका छन् ।
उक्त तालको उत्तरी किनारमा फिंगर ४ देखि ८ को बीच भागमा रहेका क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका सैनिकहरू छन् । गलवना उपत्यका र हट स्प्रिंग्सका विषयमा दुई देशबीच कुराकानी भइरहँदा चीनले पांगोङ त्सोमा उपस्थिति बढाएको हो ।
आधिकारिक सूत्रहरूले द टाइम्स अफ इन्डियालाई बताएअनुसार, गलवान उपत्यकाको पट्रोल पोइन्ट १४ नजिकको क्षेत्रमा भारतीय सेना बसिरहेको छ । त्यसै ठाउँमा सोमवार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको थियो ।
त्यसो त पांगोङ त्सोको उत्तरी किनारमा मे महिनाको आरम्भमै भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो । त्यसपछि चिनियाँ सैनिकहरूले भारतीय जवनाहरूलाई फिंगर ४ भन्दा पूर्वपट्टि जान दिएका थिएनन् ।
भारतीय सेनाका एक वरिष्ठ अधिकृतले भने, ‘सबै नक्साले वास्तविक नियन्त्रण रेखा फिंगर ९ मा उत्तरबाट दक्षिण भएर जाने देखाउँछन् । फिंगर ३ र ४ को बीचमा वर्षौंदेखि इन्डो–टिबेटन बोर्डर पुलिसको पोस्ट छ । तर अघिल्लो महिनादेखि चीनले फिंगर ४ र ८ को बीचमा कब्जा गरेको छ । चिनियाँ जनमुक्ति सेनाले त्यस विषयमा कुरै गर्न चाहेको छैन ।’
Recent Comments