हाम्रो देश
११ कार्तिक २०७७, मङ्गलवार

सप्तरीमा आइसोलेसन रित्तिदै, ७१ जना निको भएर घर फर्किए

राजविराज, असार ७ गते । सप्तरीमा कोरोना संक्रमणमाथि विजयी प्राप्त गर्नेको संख्या बढ्दै जाँदा आइसोलेसन केन्द्रमा विरामीको संख्या पनि घट्दै गएको छ । राजविराज स्थित कोभिड १९ संक्रमितको लागि सञ्चालनमा रहेको आइसोलेसन केन्द्रमा १५८ जनामध्ये हालसम्म ७१ जना निको भएर डिस्चार्ज भई घर फर्किसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका निमित मेडिकल सुपरिटेन्डेन्ट तथा कोभिड–१९ कोरोना भाइरस व्यवस्थापन समितिका संयोजक डा. रणजित कुमार झाले आइसोलेसनमा १५८ जना संक्रमित भर्ना भएकोमध्ये हाल ८७ जना मात्र उपचाररत रहेको बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइबाट कोरोना संक्रमित भई आइसोलेसनमा भर्ना भएकाहरुमध्ये कोरोना जितेर सात पटकमा गरी ७१ जनालाई डिस्चार्ज गरेको बताइएको छ । प्रथम पटक एक, दोस्रो पटक तीन र त्यसपछि क्रमशः १७, १८, १३, पाँच र १४ जना संक्रमित निको भएर घर फर्किएको छ ।

पछिल्लो पटक शनिबार एक महिलासहित १४ जना कोरोनालाई जितेर निको भएका छन् । छिन्नमस्ता गाउँपालिकाका पाँच, राजविराज नगरपालिकाबाट तीन जना, हनुमाननगर कंकालीनी नगरपालिकाबाट पाँच जना र शम्भुनाथ नगरपालिकाबाट एक जना आइसोलेसनमा भर्ना भएकाहरु निको भएर घर फर्किसकेको छ ।

जिल्लामा बैशाख २९ गते पहिलो संक्रमित आइसोलेसनमा भर्ना गरिएको थियो । पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका ३ हटेलका १८ वर्षीय नसिम हुसेन १८ दिनको उपचार पछि गत जेठ २२ गते घर फर्किनु भएको थियो । त्यस्तै गत १ गते सोमबार एक महिलासहित १३ जना निको भएर डिस्चार्ज भएका थिए । गत ३ गते बुधबार तिरहुत गाउँपालिका, राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका र राजगढ गाउँपालिकाका गरी पाँच जना कोरोनालाई जितेर घर फर्केको बताइएको छ ।

त्यस्तै जेठ २८ गते बुधबार तीन, २९ गते बिहीबार १७ जना, ३० गते १८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । यता हालसम्म जिल्लामा कोरोना जितेकाहरुमा दुई प्रहरी, एक स्वास्थ्यकर्मी समेत रहेका छन ।

मिर्गौला रोगी बालकले कोरोना जिते
कोरोनाबाट विजय प्राप्त गरेकामध्ये एक जना सप्तरीका १४ वर्षीय मिर्गौला रोगबाट पीडित बालक पनि छन । हिजो शनिबार कोराना जितेर घर फर्किएका बालक भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गराएर फर्किएका थिए । कोरोना संक्रमित मिर्गौला रोगका बिरामी बालकसँगै उहाँको ४० वर्षीया आमाले पनि कोरोना जितेकिछिन ।

राजविराज नगरपालिका १३ पिपराहीका उनीहरुलाई जेठ २६ गतेदेखि आइसोलेशनमा राखिएको थियो । गत शुक्रबार दोस्रो पटक गरिएको परीक्षणमा आमा छोरामा कोरोना नदेखिएपछि शनिबार राजविराजस्थित आइसोलेशन केन्द्रबाट डिस्चार्ज गरिएको बताइएको छ ।

बुवा–छोरामा संक्रमण
पछिल्लो पटक शुक्रबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा बुवा–छोरासहितमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । हनुमाननगर कंकालीनी नगरपालिका–४ का ४० र ११ वर्षीय बुवा–छोरा हुन । उनीहरुसँगै १६ वर्षीय अर्का एक किशोर र वडा नम्बर–७ की ५० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक रामदेव यादवले बताउनुभयो ।

भारतको दिल्ली, जयपुरबाट फर्किएका उनीहरु हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर र अरहीस्थित विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । वडा नम्बर ७ की महिला वडा नम्बर ५ स्थित राप्रावि कोरियानीको क्वारेन्टइनमा बसेकी थिइन् ।

१४ स्थानीय तहमा फैलियो संक्रमण
जिल्लाको १८ स्थानीय तहमध्ये १४ स्थानीय तहमा कोरोना भाइरस संक्रमण फैलिएको छ । हालसम्म जिल्लाको बोदेबर्साइन नगरपालिकामा ३२, हनुमाननगर कंकालिनी नगरपालिकामा ३५, बलान बिहुल गाउँपालिकामा २७, छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिका र राजविराज नगरपालिकामा १३÷१३, डाकनेश्वरी नगरपालिकामा १२, खडक र कञ्चनरुप नगरपालिकामा तीन÷तीन जना, सुरुङ्गा, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा एक÷एक जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्