हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

चीनसँगको सीमामा तैनाथ भारतीय सैनिकलाई अवस्था हेरेर हतियार प्रयोग गर्न छुट

भारतले चीनसँगको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तैनाथ सुरक्षा कमाण्डरहरुलाई अवस्था हेरेर हतियारको प्रयोग गर्न सक्ने छुट दिएको छ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार गलवानमा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएपछि सेनाले एलएसीमा तैनाथ कमाण्डरहरुलाई अवस्था हेरेर फैसला लिन छुट दिएको छ ।

अब कमाण्डर हतियारको प्रयोगमा लगाइएको रोकको बन्धनमा हुने छैनन्, उनीहरुले अवस्था हेरेर निर्णय लिने छुट दिइएको छ ।सैन्य श्रोतलाई उद्दृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘भारतीय सेना रुल्स अफ इंगेजमेन्ट (आरओई)मा बदलाव गरिरहेको छ ।’

गलवानमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि विपक्षीले भारतीय सैनिक निहत्ता रहेकोबारे गम्भीर प्रश्न उठाएका थिए ।यसको जवाफ दिँदै भारत सरकारले भनेको थियो कि सैनिकसँग हतियार थियो तर सेनाले चीनसँग भएको सम्झौताका कारण हतियारको प्रयोग गरेन ।