हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

अंगीकृत नागरिकतामा सात वर्षे प्रावधान ‘मण्डले राष्ट्रवाद’ : मातृका यादव

काठमाडौं, असार ७ । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्थाको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मातृका यादवले आपत्ति जनाएका छन् ।उनले यो व्यवस्था मण्डले राष्ट्रवादी सोचबाट ग्रसित भएको भन्दै आफ्नै दलको सचिवालय बैठकले गरेको निर्णयको समेत भत्र्सना गरेका छन् ।

आइतबार विज्ञप्ति निकालेर सांसद यादवले मण्डले राष्ट्रवादी चिन्तनबाट मुक्त भएर देशभक्तिको भावनाले ओतप्रोत भई सहमतिअनुसार नागरिका ऐन संशोधन गर्न आग्रह गरेका हुन् । उनले यो व्यवस्था जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरीत हुने पनि भनेका छन् ।आइतबार प्रेस विज्ञप्ति निकाली यादवले भनेका छन्, ‘सिमानामा बस्ने नेपालीहरुले भारतीयसँग व्यापक रुपमा वैवाहिक सम्बन्ध गाँस्ने गरेकाले उक्त ७ वर्षे प्रावधानले नेपाली बुहारीहरुलाई ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र साँस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ ।’

यो निर्णयले मधेसी समुदायको मात्र नभई महिलाहरुको पनि प्रगति, विकास र समृद्धिमा कुठाराघात हुने जिकिर यादवले गरेका छन् ।नेपालको संविधानको धारा २८९ मा राष्ट्रपति, प्रधानमन्त्रीलगायत राज्यको १० प्रमुख पदाधिकारीको पदमा अंगीकृत नागरिकको निर्वाचन, मनोनयन वा नियुक्ति हुन नसक्ने प्रावधान हुँदाहुँदै नागरिकता ऐनमा विदेशी बुहारीलाई ७ वर्षको प्रबन्ध राख्नुको औचित्य र आवश्यकता नभएको उनले उल्लेख गरेका छन् ।

उनले भारततर्फ देखाउँदै ल्याइएको व्यवस्थाबारे भनेका छन्, ‘स्मरण रहोस्, नेपालमा राजनीतिक र कानूनी अधिकार उपभोग गर्न नागरिकताको प्रमाणपत्र न्युनतम शर्त रहेकामा छिमेकी राष्ट्र भारतमा नागरिकताको प्रमाणपत्रविना नै उपरोक्त अधिकारहरु उपयोग गर्न पाउने व्यवस्था छ ।’यसअघि नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले पनि पार्टी सचिवालय समितिको निर्णयको विरोध जनाएका थिए ।