हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था संसदीय समितिबाट पारित, चार दल विपक्षमा

काठमाडौं, असार ७ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन हुने भएको छ ।प्रतिनिधि सभाको राज्यव्यवस्था समितिको बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

समितिको बहुमतले प्रस्ताव पारित गरेको सभापति शशी श्रेष्ठले जानकारी दिएकी हुन् ।प्रस्तावको पक्षमा नेकपाका सांसदहरू थिए भने प्रतिपक्षी दलका सांसदहरूले यसमा असहमति जनाए ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अरु बुँदामा सहमति भए पनि वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिने व्यवस्थामा सहमति नभएको जनाएको हो ।

यसबारेमा कांग्रेसले समितिमा फरक मत नै दर्ता गराएको छ ।मधेश केन्द्रित विपक्षी पार्टी राजपा, समाजवादीले पनि यसको विरोध गर्दै विपक्षमा उभिए । नेमकिपाको पनि फरक मत रहेको छ ।प्रतिपक्षी कांग्रेस र जसपाका सांसदहरूले भने नागरिकतासम्बन्धी ऐन २०६३ को प्रावधान अहिले पनि कायम हुनु पर्ने बताएका छन् ।

समितिले विधेयकमा अंगीकृत नागरिकता नपाउञ्जेल विदेशी महिलालाई स्थायी बसोबास अनुमति पत्र दिने प्रस्ताव पनि ल्याएको छ । राजनीतिक र सरकारी नियुक्ति जागिरबाहेकका विभिन्न ७ वटा अधिकार दिने उक्त प्रावधान पनि पारित भएको छ । अरु प्रस्ताव भने सर्वसम्मतिले पारित भएका हुन् ।