हाम्रो देश
१५ माघ २०७७, बिहिवार

मानसिक तन्दुरुस्तीका सूत्र

मानसिक स्वास्थ्य व्यक्तिको जीवनस्तर तथा कार्य क्षमतासँग सम्बन्धित संवेदनशील विषय हो। सुनिन्छ– बलिउडमा सफल भनिएका केही हस्ती डिप्रेसनको सिकार भएका छन्। प्रत्येक चारजनामध्ये एकजना जीवनको कुनै पनि एउटा अवस्थामा मानसिक रोगबाट ग्रस्त हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

विश्व स्वास्थ्य संगठन सन् २०२१ सम्ममा सबैभन्दा बढी संख्यामा मानिस ग्रसित भएको रोगको बरीयतामा डिप्रेसन दोस्रो स्थानमा रहेको छ। तथ्यांकले विकसित हँुदै गएको मानव सभ्यताको मानचित्रमा मानसिक समस्या चुनौतीपूर्ण रहेको इंकित गर्छ। विज्ञान र प्रविधिकोे विकासले मानिसको जीवनयापनमा विगतको तुलनामा सहजतापूर्ण बनाइदिए पनि मानसिक दुःख भने बढाएको यथार्थ नकार्न सकिँदैन। यसका केही कारण छन्।

हरेक व्यक्ति जीवनलाई सहज बनाउन अनवरत प्रयासरत छ। जब मानिसले भौतिक उपलब्धि हासिल गर्दै जान्छ, त्यसको सीधा प्रभाव उसको दैनिक तालिकामा पर्छ। उसले गर्ने कार्यबाट        श्रम र समयको बचत हुन जान्छ। सामान्यतया हाम्रा आँखा टम्म मिलेका वस्तुमा भन्दा छिटो भत्केबिग्रेका वस्तुमा जान्छ भने हाम्रो मन एउटाले गरेको थुप्रै प्रशंसा छाडी अर्कोले गरेको आलोचना गएर अड्किन्छ। तसर्थ सुविधासम्पन्न भई फारो भएको  श्रम र समयलाई सृजनशील कार्यमा लगाउनुपर्छ। नत्र        श्रम र समय खराब कर्मतिर मोडिनेछ। जस्तो– खान नहुने कुरा खान्छ, नबोल्नुपर्ने बोल्छ र नसोच्नुनपर्ने सोच्छ। यस्तै कर्मले एक दिन मानिसको जीवन असन्तुलित हुन पुग्छ।

भौतिक रूपमा सुविधासम्पन्न नहुँदासम्म व्यक्ति त्यसको पछाडि दौडिरहेको हुन्छ। जब मानिसलाई सांसारिक उपलब्धि हाँसिल हुँुदै जान्छ तब सँगसँगै खुसी त आउँछन् तर सबै क्षणिक। मिराजको पछाडि मृग दौडेजस्तो भौतिक उपलब्धिको पछाडि दौडिँदा मानव जीवनको अधिकांश समय र ऊर्जा सकिन्छ। त्यसो गर्दा केही उपलब्धि पनि हासिल हुन्छन् तर स्थायी आनन्द र खुसी प्राप्त हुँुदैन। अनि मानिसले कुरा बुझ्छ, यसरी स्थायी आनन्द र खुसी प्राप्त हुँदो रहेनछ, विस्तारै आफूभित्रै शून्यताको महसुस हुन थाल्छ। जीवनभरको प्रयास र उपलब्धि सबै नित्कृष्ट लाग्न थाल्छन्। आफू हुनुकोे कुनै मोल देख्दैन मानिस। विस्तारै मन निराशातिर लाग्छ। यस्तो निराशाले मानसिक समस्यातर्फ धकेल्दै लैजान्छ।

सम्यक महत्वाकांक्षा उत्पादनशील हुन्छन् किनकि सम्यक महत्वाकांक्षाले मानिसलाई भोलिको आशामा आज अझ चेष्टा गर्न ऊर्जा दिएको हुन्छ। तर महत्वाकांक्षा सम्यक नभई उच्च भइदियो भने अनुत्पादक मात्र नभई हानि पुर्‍याउने खालका हुन्छन्। उच्च महत्वाकांक्षीले आज देखेकै हँुदैन। भोलि मात्र देख्नेलाई आफूसँग आज केको खानी छ त्यो थाहा पनि हुँुदैन। त्यसैले आज आफूसँग भएको वस्तुबाट आनन्द लिन सक्दैन। उसले सधैं आफूसँग नभएको कुरा मात्र देख्छ र त्यसैको पछि दौडिरहन्छ। जीवनको अधिकांश समय आफूसँग नभएको वस्तुको पछि दौडिँदा–दौडिँदा, दौडिरहने नै बानी बस्छ। संसारभरका सबै वस्तु उसको अगाडि टक्र्याउँदा पनि उक्त व्यक्ति आनन्दित हुँुदैन। किनकि उसले आनन्दित हुन सिकेकै छैन, जानेकै छैन। झट्टै उससँग के छैन खोजिहाल्छ, असन्तोषको दौडतिर लागिहाल्छ। यस्तो असन्तुलित दौडले मानिसलाई आनन्द भोगबाट मात्र वञ्चित गर्दैन, मानसिक असन्तुलनतिर लैजान्छ।

सुविधाजनक ढंगले आफूभन्दा कमजोरलाई मद्दत गर्दा करुणा भाव जीवन्त रहेछ भन्ने प्रमाणित हुन्छ। हामी हुनुको औचित्य बोध गराउँछ।

दैनिक जीवनमा क्यालोरी आवश्यकता ः व्यक्तिको उमेर, उसले गर्ने शारीरिक श्रमअनुसार फरकफरक हुने भए पनि सामान्यतया एक वयस्क व्यक्तिनिम्ति दैनिक २४०० क्यालोरी आवश्यक हुन्छ। तसर्थ हामीले खानाबाट कति क्यालोरी लिइरहेका छौं र त्यति क्यालोरी लिनु आवश्यक छ कि छैन सचेत भएर भोजन ग्रहण गर्नुपर्छ। आरामको माध्यमबाट पनि हामीले ऊर्जा प्राप्त गरिरहेका हुन्छौं। एक स्वास्थ्य वयस्कलाई ६ घन्टाको पूर्ण निद्रा आवश्यकता पर्छ। तर निद्रा स्तरीय हुनुपर्छ, राम्ररी निदाउन सकिएन भने १० घन्टा बिछ्यौनामा पल्टिँदा पनि आराम पुग्दैन। तसर्थ सकेसम्म निद्रा लागेपछि मात्र बिछ्यौनामा जाने र निद्राले छोड्नासाथ बिछ्यौना छाड्ने बानी स्वस्थकर हुन्छ।

श्वासप्रश्वासको माध्यमबाट पनि हामीलाई ऊर्जा प्राप्त हुन्छ। पहिलो कुरो त श्वास लिने वातावरणमा प्रदूषण कम होस्। त्यसैगरी श्वास लिँदा र छोड्दा छोटो र हल्का होइन कि बरु सकेसम्म लामोे र गहिरो हुनुपर्छ। यस्तो प्रकारको श्वासप्रश्वासले शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा स्थिर रहन सहयोग गर्छ। तसर्थ, याद भएसम्म घर, कार्यालय, पार्क जहाँ रहँदा पनि गहिरो र लामो श्वासप्रश्वास लिनुपर्छ।

सन्तुलित जीवनका लागि समय पनि व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ। समयतालिका बनाएर त्यसको अनुसरण गर्नु, समयको व्यवस्थापन गर्ने सबैभन्दा उत्तम तरिका हो। सन्तुलित दैनिक तालिकानिम्ति पहिले २४ घन्टालाई तीन भाग लगाउनुहोस्। पहिलो आठ घन्टामध्ये ६ घन्टा स्तरीय निद्रानिम्ति तथा एक घन्टा शारीरिक व्यायाम तथा एक घन्टा ध्यान साधना वा योगनिम्ति छुट्ट्याउनुहोस्। दोस्रो आठ घन्टा पेसागत कामनिम्ति छुट्ट्याउनुहोस्। 

तेस्रो आठ घन्टामध्ये पाँच घन्टा घरायसी काम तथा एक घन्टा दैनिक घरका केटाकेटी, वृद्धवृद्धा र परिवारका अन्य सदस्यसँग कुराकानी गर्न, अनुभव साटासाट गर्न र दुई घन्टा आफ्नो रुचिको काम गर्न छुट्ट्याउनुहोस्। यसरी तयार गरेको तालिकाको अनुसरण गर्र्दा अनावश्यक कृत्यमा संलग्न हुने सम्भावना रहँदैन भने आवश्यक कृत्य पनि छुट्दैनन्। आफू मात्र सकारात्मक भएर पुग्दैन। हामीले दैनिक जीवनमा सकारात्मक दृष्टिकोण नभएका मानिससँग पनि अन्तरक्रिया गरिरहनुपर्छ। घटनापरिघटना पनि सधैं सकारात्मक हुँदैनन्। यसले हाम्रो आन्तरिक शान्तिलाई खल्बलाइदिन सक्छन् तसर्थ मनलाई सकारात्मक राखिरहन नियमित सकारात्मक दृष्टिकोणको टोनिक लिइरहनुपर्छ। 

यसको निम्ति समय छुट्ट्याउनु पर्दैन। यस कृत्यलाई दैनिकीमै समायोजन गर्न सकिन्छ। जस्तै– हरेक दिन आफ्नो दैनिकी सुरु गर्नुअघि प्रार्थना गर्ने। कार्यालयको काम सुरु गर्नुअघि चेतना उच्चस्तरमा पुगेका व्यक्तित्वहरूका भनाइहरू पढ्ने, मनन गर्ने। यसनिम्ति कम्प्युटर स्क्रिनमा दैनिक परिवर्तन हुने गरेर भनाइ पनि राख्न सकिन्छ। उत्प्रेरणा दिनेखालका किताब नियमित पढ्ने। सम्भव भएसम्म जीवनप्रति सकारात्मक दृष्टिकोण राख्ने साथीहरूको सर्कल बनाउने र सम्पर्कमा रहने। यसैगरी मानवता प्रवद्र्धन गर्ने संघमा आबद्ध हुने। 

सुविधाजनक ढंगले आफूभन्दा कमजोरलाई मद्दत गर्दा करुणा भाव जीवन्त रहेछ भन्ने प्रमाणित हुन्छ। हामी हुनुको औचित्य बोध गराउँछ। कुनै पनि व्यक्ति वृति विकासको पछि लागिरहँदा मानसिक तन्दुरुस्ती ओझलमा परेको छ। मानसिक तन्दुरुस्तीसँग सम्झौता गरी आएको विकास दिगो हुन सक्दैन। यस्तो एकोहोरो बढोत्तरीको मूल्य व्यक्ति र समाज दुवैले चुकाउनुपर्ने हुन्छ। त्यसकारण मानसिक तन्दुरुस्तीको जगेर्ना र उन्नयनतर्फ लाग्नु नै विकेकशील कदम हुन्छ। 

प्रतिकृया दिनुहोस्