हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

कोरोना संक्रमितको पुन: परीक्षण नगरी क्वारेन्टाइनबाट घर पठाइयो

गुल्मी : मालिका गाउँपालिका-५ कि कोरोना संक्रमित महिलालाई एक महिना क्वारेन्टाइनमा राखेर बिहीबार घर पठाइएको छ। आरडिटी पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर पिसीआर विधीबाट परीक्षण गर्दा उनलाई कोरोनाको पुष्टि भएको हो।

कोरोना भारइस पोजेटिभ देखिएपछि उनलाई गाउँकै विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमै राखिएको थियो। संक्रमित महिला एक महिना अगाडि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी थिइन्। उनको दोस्रो पटक पिसिआर परीक्षणका लागि स्वाब संकलन नगरी घर पठाइएको छ।

संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य भएपनि कोरोनाको रिपोर्ट नेगेटिभ नआउँदै घर पठाउँदा स्थानीय त्रसित भएका छन्। संक्रमितलाई सन्चो भएको प्रमाणविना घर पठाउँदा समुदायमा फैलनसक्ने भन्दै उनीहरु त्रसित बनेका हुन्। संक्रमित व्यक्तिका परिवारले समेत निको भएको प्रमाणविना घर पठाउँदा छिमेकी र गाउँलेबाट थप विभेद सहनुपर्ने अवस्था आएको बताए। स्थानीयले संक्रमितलाई घर पठाएर होम क्वारेन्टाइनमा बस्न भनेपनि ठिक भए, नभएको रिपोर्ट जाँच गर्नुपर्ने माग गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानी प्रसाद शर्माले संघीय सरकारले बनाएको आइसोलेसन गाइडलाइन अनुसार सामान्य अवस्थामा रहेका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर एक हप्ताको होम क्वारेन्टाइनको समय दिई घर पठाउने व्यवस्था गरेकाले पठाइएको उल्लेख गरे। शर्माले रेसुंगा नगरपालिकाका १४ जना संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर घर पठाइएको समेत जानकारी गराए।

यसरी संक्रमित व्यक्तिलाई ठिक भएको पुष्टि नगरी घर पठाउँदा संक्रमित थप समस्यामा पर्ने र समुदायमा संक्रमण फैलनसक्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य कार्यालय गुल्मीका अनुसार बिहीबारसम्म गुल्मीमा संक्रमितको संख्या २५७ पुगेको छ।