हाम्रो देश
१४ कार्तिक २०७७, शुक्रवार

सुशान्त सिंह राजपूतका पिता भन्छन्– मेरो छोरो विशेष थियो

आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतका पिता केके सिंहले छोरो विशेष किसिमको र आफ्नो खुट्टामा आफैं उभिएको मानिस भएको बताएका छन् । एमएस धोनी र छिछोरे जस्ता फिल्ममा स्मरणीय अभिनय गरेका राजपूत १२ दिनअघि ३४ वर्षको उमेरमा बितेका थिए ।

सुशान्तले टीभी र फिल्ममा जाने सोच कसरी बनाए भन्ने विषयमा उनका पिताले भने, ‘ऊ मलाई नभनी मुम्बई गएको थियो । जेठी दिदी नीतुलाई भनेर ऊ सपना साकार गर्न गयो । मैले उसलाई पढाइ सक्न भन्छु भनेर ऊ डराएको थियो । छिट्टै उसले टीभीमा काम पायो ।’

सुशान्त सबै कुरा योग्यताकै आधारमा हासिल गर्न चाहेको उनले बताए । ‘मेरो छोरोले सबै कुरा आफैं गरेको हो । आफू योग्यताकै आधारमा अघि बढ्ने ऊ बताउँथ्यो । अन्तिममा के भयो, म बुझ्दिनँ,’ उनले भने ।

सुशान्तलाई अभिनयमा कति लगाव थियो भन्ने बारेमा छोरीहरूले बताउने गरेको उनले बताए । ‘छोरीहरूले मलाई सुशान्तको सपना साकार पार्न दिन भनेका थिए । उसलाई त्यसमा लगाव थियो । ऊ इमान्दार थियो तर कहिल्यै कठोर भएन । ऊ धूर्त थिएन, आफ्नो व्यक्तित्वमा पक्का थियो ।’

आफूले सुशान्तलाई कहिले पनि दबाब नदिएको वा उसको स्वतन्त्रतामा आघात नपारेको पिताले बताए । आफ्नो छोरो विशेष भएको बताउँदै उनले भने, ‘हामीले निकै पूजाआजा गरेपछि ऊ जन्मेको थियो । उसले केही वर्षमै निकै धेरै उपलब्धि हासिल गरेको थियो । ऊ विशेष आत्मा थियो । जीवनकालमा मानिसले यति धेरै उपलब्धि हासिल गर्न सक्दैनन् ।’ सुशान्तको पोस्टमोर्टम रिपोर्टमा झुण्डिएपछि सास फेर्न नसकेर मृत्यु भएको भनी लेखिएको छ ।

प्रतिकृया दिनुहोस्