हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

लकडाउनमा एउटा रिक्सा जिन्दगी

६८ वर्षीय ओमनाथ भन्छन्– सकुन्जेल पेलिन्छ !

झिलिमिली ठमेलको एक पात्र हुन्– ओमनाथ पाठक (६८) । आफ्नो अध्यारो जीवनमा पिलपिल बत्ती बालेरै भए पनि जसतसो पाइला सारिरहेका थिए उनले । कोरोना कहरले त्यही पिलपिल बत्ती पनि झ्याप्पै निभाइदियो । न उनको रिक्सा चल्यो, न पेटले अन्न र औषधि भेट्यो ।

ठमेलका सटरहरु खुल्न र मानिसहरु देखिन थालेपछि १ असारदेखि पाठक पनि सडकमा निस्किए । उनले रिक्साको पाउदानी मजाले पेल्न भने पाएका छैनन् ।

उनी हरेक विहान एक मग तातोपानी खाएर थोत्रो चप्पल लगाएका बुढो खुट्टाले रिक्साको पाउदानी दबाउँदै नरसिंह चोकमा पुग्छन् र ग्राहक कुर्न थाल्छन् । ‘१० बजेतिर क्षेत्रपाटी जाने एउटा ट्रिप भेटियो, अहिलेसम्मको कमाइ त्यही पचास रुपैयाँ हो’, बिहीबार दिउँसो तीन बजे उही नरसिंह चोकमा भेटिएका उनले भने ।

थुप्रै दिन एक छाक

ओमनाथ पाठकले रिक्सा चलाएको ३७ वर्ष भयो । यो साल भने कोरोना भाइरसका कारण उनी वृद्ध शरीरलाई पूरा तीन महिना कुँजाएर राख्न बाध्य भए अनि भोकमरीबाट जसोतसो बचे ।

लकडाउनअघि उनी साँझ परेपछि ठमेलका सडकमा ठेलिन्थे । अहिले ठमेलले रात्री जीवन गुमाएको छ । ‘कोरोना आउनुअघि ठमेल रातभर जाग्थ्यो’, पाठक भन्छन्, ‘मै बुढो पनि रातभर रिक्सा पेलेर १२–१५ सय रुपैयाँ कमाउथेँ ।’

उनकी श्रीमती कृष्णमाया पनि ठमेलकै चोक–गल्लीतिर नाङ्लोमा सिगरेट, गुट्खा, खैनी, पानी, जुस, आदि बेच्थिन् । रातभर कमाएर फर्र उज्यालो भएपछि श्रीमान–श्रीमती ठमेलकै साँघुरो डेरामा पुग्थे अनि दिनभर आराम गर्थे ।

यसरी नै उनीहरुले एक छोरालाई स्नातक तहसम्म पढाए । गत माघमा छोरीको बिहे गरे । बिहेले छ लाख रुपैयाँ खर्चाइदियो । छोरा बाँकेमा बैंकमा काम गर्छन्, आफ्नो गुजारा गर्छन् ।

छोरीको बिहेमा लागेको ऋण तिर्न पाठक दम्पति अझै बलियो गरी पेलिनुपर्ने थियो । त्यहीबेला कोरोना आइदियो । कमाइ होइन, हेर्दाहेर्दै चुलो बल्न धौ–धौ पर्यो । त्यही बेला बुढालाई हनहनी ज्वरो आयो ।
‘जसोतसो वीर अस्पताल गएर जाँच त गराएँ, तर मधुमेह, रक्तचाप र अरु के–के बिमारको औषधि किन्ने पैसा पनि भएन’, पाठक भन्छन्, ‘महिनामा पाँच–छ हजार त औषधिमै जाने भयो ।’

ठमेलका अरु रिक्सावालहरु लाखापाखा लागिसकेका थिए । पाठकका अनुसार गाउँमा घर भएकाहरु उतै फर्केका थिए, रिक्सामै सुत्नेहरु मात्र ठमेलमा थिए । ‘क–कसले हो, सडकमै खाना खुवाउन थालेपछि उनीहरुलाई सहज भयो’, उनी भन्छन्, ‘म त सडकमा खान जान पनि मिलेन ।’

पाठक बिहान ढिडो, बेलुकी रोटी खान्छन् । अरु खाना खाए बुढो शरीरले दुःख दिन्छ । लकडाउनको अवधिमा थुप्रै दिन बुढाबुढीले एक छाक मात्र खाए– स्वास्थको लागि होइन, नभएर । पाठक भन्छन्, ‘काम नगरी खान पुग्ने भए रिक्सा लिएर यहाँ किन घिस्रिराखेको हुँदो हुँ र !’

****

नरसिङ चोक वरिपरि थुप्रै रिक्सा सवारी खोज्दै घरी यता, घरी उता गरिरहेका छन् । तर, पाठक एकै ठाउँ स्थिर छन् । खासमा उनीसँग सवारी खोज्दै हिँड्ने जाँगर नै छैन ।

केही पर अग्लो घरको बरण्डामुनि सडक पेटीमा पावरवाला चस्मा लगाएर बसेकी कृष्णमाया पित्रो परेको मास्कले मुख ढाकेर रिक्सामै बसिरहेका श्रीमानलाई घरिघरि हेरिरहन्छिन् । यही गल्लीमा बस्दाबस्दै पाठक दम्पतिको आँखा स्वाट्टै कमजोर भएर गएको छ ।

कृष्णमाया बिभिन्न ब्राण्डका चुरोट, गुट्खा, खैनी, पानी, जुस आदि बेच्न बसेकी छन्, तर तीन–चार खिल्ली चुरोटबाहेक अरु केही बिक्री भएको छैन । उनले सुस्तरी भनिन्, ‘२० दिन भयो, यसरी सामान बोकेर निस्केको, तर बिक्री नै हुँदैन ।’

लकडाउनअघि कहिले त दुई हजारसम्मको व्यापार भएको उनले सम्झिइन् । अहिले मानिसहरु हिँडिरहेका छन्, तर धेरैले सडकमा किन्नै छाडेका हुन् कि, चुरोट–खैनी त्यागेका हुन् कि जस्तो उनलाई लागेको छ ।

असारको मास, त्यही बेला पानी ओइरियो । कृष्णमाया सामान पोको पारेर घरको भित्तातिर सरिन् । उता, ओमनाथ ठूलो प्लास्टिकले बेरेको रिक्सामा नचलमलाई बसेका छन् । प्लास्टिकमा जम्मा भएको पानी घरिघरि भित्रैबाट ठेलेर तर्काउँछन् ।

वायाँतर्फ साँघुरो गल्लीमा छिरेर करिव सय मिटर काटेर रिक्सालाई विश्राम दिए । त्यहाँभन्दा अगाडि रिक्सा छिर्दैन । उनी पैदलै गएर पुरानो घरको ढोका उघार्छन् । फोनको टर्च बालेर सुस्तरी काठको भर्याङ उक्लदै दुई तला माथि पुग्छन् । कतैबाट सूर्यको किरण र ताजा हावा नछिर्ने कोठामा बिजुलीको स्वीच थिचेपछि देखिन्छ, कृष्णमाया र ओमनाथ पाठक दम्पतिको रहनसहन ।

ढोकैनेर ग्यास चुलो । चुलोसँगै टाँसिएको थोत्रो दराज । एउटा खाट, त्यसभरि सामान । भुइँमा नउठाइएको ओछ्यान् । टाँगेका दुई–तीनवटा डोरी अस्तव्यस्त कपडा । ‘दुई महिना भयो भाडा नतिरेको । कमाइ छैन भनेर साहुले माफ नगर्दो रहेछ’, पाठकले उभिएरै भने, ‘फोन गरेर कसेको कस्यै छन् ।’

२०७२ सालको भुइँचालोपछि ओमनाथ दम्पति यो डेरामा आइपुगेको हो । ‘हामी बस्न त ठिकै छ, तर एकजना पाहुना राख्न पर्यो भने मिल्दैन’, ओमनाथले भने, ‘यहाँको सबभन्दा नराम्रो यही हो ।’

काठमाडौंमा आउँदा अरुको जस्तै उनको पनि गुणस्तरीय जीवनको सपना थियो । उनले कहिले रत्नपार्कमा कपडा बेचे, त कहिले हेटौंडा झरेर काम गरे । स्कुलबाट आउँदै गरेको आठ वर्षे छोरालाई गाडिले किचेर ठहरै पारेपछि हेटौंडा त्यागेको उनी बताउँछन् ।

‘अहिलेसम्म यस्तै कोठामा छु’, उनले भने, ‘तर, दुई सन्तानलाई बढाएँ, पढाएँ । मर्नुअघि सबैले गर्ने यही हो, यसमा सन्तुष्ट छु ।’

यो उमेरमा पनि ओमनाथ दम्पतिलाई जीविकाको लागि सडकमा ननिस्की धरै छैन । रोगले छोएको वृद्ध शरीरले कहिलेसम्म रिक्सा गुडाउन सक्ला ? ‘सकुन्जेल पेल्ने हो’, ओमनाथ भन्छन्, ‘नसकेपछि छोराछोरीले हेर्लान् की !’