हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

चीनसँग सम्भावित लडाइँका लागि भारतले ६ दिनमा बनायो पुल

भारतको उत्तराखण्डमा रहेको मुनस्यारीमा बोर्डर रोड अर्गनाइजेसनले जम्मा ६ दिनमा नयाँ पुल बनाएको छ । उक्त क्षेत्रमा भएको झोलुंगे पुल जुन २२ मा भत्किएपछि बाटो बन्द भएको थियो । तर ६ दिनमै पुल बनाइएको छ । चीन र भारतबीच उत्पन्न विवादका बीच यस पुलको निर्माणलाई सामरिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

मुनस्यारीबाट मिलम जाने बाटोमा धापा नजिक सेनर खोल्सोमा बनेको पुल भत्किनुमा ठूलो ट्रक जिम्मेवार छ । ट्रकले पोकल्यान्ड मशिन लिएर गइरहेको थियो । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका थिए । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

मिलमबाट चीनसम्मको सीमामा ६५ किलोमिटर सडक तीव्र गतिमा चलिरहेको छ । सडक निर्माणका लागि पहाड काट्ने र ढुंगा हटाउने काम भइरहेको छ । त्यसका लागि भारी तौल भएका यन्त्रलाई मिलम लग्ने काम भइरहेको छ । सामान लग्न झोलुंगे पुल आवश्यक हुन्छ ।

जुन २२ मा पुल भाँचिदा सडक काट्ने काम प्रभावित भयो तर बीआरओले ६ दिनभित्र पुल तयार पारेको छ । झोलुंगे पुल तयार भएपछि भारतीय सेना र आईटीबीपीका जवानहरूलाई चीन सीमामा पुग्न सहज हुनेछ । सैन्य आवश्यकताका सामान पनि सजिलै मिलम पुग्नेछ ।