हाम्रो देश
४ कार्तिक २०७७, मङ्गलवार

कोरोना जितेका युवा भन्छन् – ‘अब गाउँमै कृषि उद्यम गर्ने’

बेनी : म्याग्दीको मालिका गाउँपालिका-३ का २३ वर्षीय रमेश विश्वकर्मा (नाम परिवर्तन) कामको खोजीमा २२ महिनाअघि युएई गएका थिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)को जोखिमका कारण तीन महिनादेखि कामबिहीन बनेपछि उनी युएईबाट जेठ अन्तिम साता नेपाल फर्किएका थिए । बेनीको क्वारेन्टाइनमा बसेका विश्वकर्मालाई घर नपुग्दै कोरोना संक्रमण पुष्टि भएपछि थप आठ दिन आइसोलेसनमा बस्नुपर्यो।

‘विदेशमा सोचेको भन्दा धेरै दुख व्यहोरेर आउनुपर्‍यो,’ कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि आइतबार आइसोलेसनबाट डिस्चार्ज भएर घर जान लागेका उनले भने, ‘अब गाउँमै खेती-किसानी गर्ने सोचेको छु ।’

कोरोना फैलिएपछि मरेपनि आफ्नै देशमा मरिएला भनेर स्वदेश फर्किएको उनले बताए । गाउँमा बाख्रापालनका साथै तरकारी र फलफूल खेती गर्ने योजना बनाएका विश्वकर्माले सिपमुलक तालिम, पुँजी र प्रविधिमा सरकारले सघाएमा कामको खोजीमा फेरी विदेश जानु नपर्ने बताउँछन् ।

बेनीको खुल्ला मञ्चमा सञ्चालित आइसोलेसनमा रहेका मंगला गाउँपालिका-५ र बेनी नगरपालिका-३ का एक/एक जना पुरुष पनि उनीसँगै डिस्चार्ज भएका छन् । उनीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । बेनी र मंगलाका जेठ २७ गते भारतबाट आएका हुन् ।

आइसोलेसनमा रहेकी रघुगंगा गाउँपालिकाकी एक महिलाको दोस्रो रिपोर्ट नेगेटिभ आएपनि उनको साथमा रहेकी छोरीको रिपोर्ट पोजिटिभ आएकाले उनलाई डिस्चार्ज गरिएको छैन् । बेनीको आइसोलेसनमा ९ जना छन् । १४ जनामा संक्रमण पुष्टि भएकोमा हालसम्म छ जना निको भएका छन् । यसअघि गत हप्ता दुईजना कोरोना जितेर घर गएका थिए ।

म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टाइनमा शनिबार खाडी र अमेरिकाबाट आएका ३२ जनासहित करिब ७० जना छन् । स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले घरमा गएपनि एक हप्तासम्म अलग्गै बस्न, भौतिक दुरी कायम गर्न तथा सरसफाइमा ध्यान दिन, स्वास्थ्यमा समस्या आएमा सम्पर्क गर्न आग्रह गरे ।

कोरोना पोजिटिभ भएपनि आफूहरुलाई कुनै लक्षण नभएको उनीहरुको भनाइ थियो । आत्मबल, स्वस्थ्य खानपान, आरामले कोरोना जित्न सकिने अनुभव सुनाएका थिए । क्वारेन्ट‍ाइन र आइसोलेसनको व्यवस्थापन राम्रो भएपनि खाना खुवाउने क्यान्टिन सञ्चालकप्रति गुनासो गरे ।

आफूहरुलाई समाजले राम्रो व्यवहार गरोस् भन्ने अपेक्षा राखेका छन् । दुरव्यवहार नगर्न आग्रह गरे । हालसम्म म्याग्दीबाट २८६ वटा नमुना संरक्षण गरी पीसीआर जाँच गर्न पठाइएकोमा १६ वटाको नतिजा आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्