हाम्रो देश
१२ कार्तिक २०७७, बुधवार

कोरोनाले सुनसान बनायो १७ औँ धान दिवस

पर्वत : गत वर्षको यही दिनमा जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाको सिर्सुवामा रमाइलो थियो। जिल्लाका सरकारी सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कुस्मा नगरपालिका र फलेवासका जनप्रतिनिधि, स्थानीय नागरिक र पत्रकारहरूको ठुलो जमात हलो जोत्दै, मोहीमा गोरु दौडाउँदै, हिलो छ्याप्दै धान रोपिरहेको दृश्यले १६ औँ राष्ट्रिय धान दिवसलाई ठुलो मेला लागेको जस्तो बनाइएको थियो।

यस वर्षको १७ औँ धान दिवसमा भने सिर्सुवाको त्यही फाँट सुनसान बनेको छ। लगाइएको मकै नपाकेका कारण एक त फाँटमा रोपाइँ सुरु नै भएको छैन, अर्कोतिर कोरोना भाइरस सङ्क्रमणको कारण हुलहुज्जत र भिडभाड गर्ने अवस्था छैन। असारे १५ को रोपाइँ मेला आयोजना गर्दा कोभिड १९ सङ्क्रमणको जोखिमका कारण यस वर्षको धान दिवसमा रोपाइँ मेलाको आयोजना भएको आफूले थाहा नपाएको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए।

धान दिवसमा हुने मेलामा बालबालिकादेखि कृषक र राज्यको माथिल्लो निकायमा रहेकालाई अतिथि बनाएर रोपाइँमा सहभागी बनाएर गरिने रमाइलोको आयोजना स्थानीय तहले गर्दै आएका थिए। तर भाइरस सङ्क्रमणको जोखिमकै कारण यस वर्ष रोपाइँ मेला आयोजना नगरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपणि शर्माले बताए। ‘अघिल्लो वर्ष त प्रदेशका अर्थमन्त्री किरणजीलाई ल्याएर रमाइलो गरेको हो। कृषकहरू पनि सहभागी हुनुभयो, उहाँहरूमा पनि रोपाइँको जोस चलेको थियो।’ उनले भने, ‘यस वर्ष कोरोनाको जोखिमका कारण रोपाईँ मेलाको आयोजन गर्न सम्भव भएन। अन्य स्थानीय तहले पनि गरेका छैनन्। गर्ने अवस्था नै छैन।’​

असारे १५ मा जसरी पनि हिलोमा टेक्नै पर्ने र धानको अलिकति बीउ रोप्नै पर्ने भए पनि यस वर्ष हिलोमा टेक्नुपर्ने बाध्यता भएका कृषकहरू बाहेक अन्य व्यक्तिहरू हिलो खेल्दै रमाउन गएका देखिएका छैनन्। अरूको सम्पर्कमा जाँदा सङ्क्रमण हुन सक्ने भएकाले रहरले हिलोमा जानेहरू घरभित्रै थुनिएर बसेका छन्। असार १५ को अगाडि पछाडि जस्तो सुनसान हुन्थ्यो असारे १५ मा पनि त्यस्तै भएको फलेवास नगरपालिकाका कृषक बिष्णुप्रसाद शर्माले बताए।

‘कोरोनाले गर्दा रङ्ग न रमाइलो भएको छ। खेतमा हली र बाउसे जाँदा पनि परिवार भन्दा बाहिरको मान्छेसँग काम गर्न नै शङ्का गर्नुपर्ने अवस्था छ। उही घरकै मान्छेले जति सकिन्छ अलिअलि रोपाइँ भएको छ।’ शर्माले भने, ‘अहिले त असारे १५ को रमाइलो जस्तो नि भएको छैन। हली, बाउसे र खेतीलाले मेला लागेको जस्तो देखिने फाँटमा काम चलाउने मान्छे मात्र छन्।’

प्रतिकृया दिनुहोस्