हाम्रो देश
१२ कार्तिक २०७७, बुधवार

उदयपुरमा एकै परिवारका ५ सहित ६ जना संक्रमित

उदयपुर : उदयपुरमा एकै परिवारका ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना बालबालिका रहेका छन् । बिराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये एक जना तेस्रो मुलुक कुबेतबाट र बाँकी पाँच जना छिमेकी मुलुक भारतबाट आएका एक परिवारका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार कटारी नगरपालिका ५ का एकै परिवारका ४६, २१, १७, १३, १० र त्रियुगा नगरपालिका ४ की ३८ वर्षीया महिलालाई कोरोना पोजिटिभ देखिएको हो । तर श्रीमतीलाई भने नेगेटिभ देखिएको छ । ४६ र २१ वर्षीय बाबुछोरा हुन् । बाँकी तीन जना छोरी हुन् ।

भारतको दिल्लीमा होटल सञ्चालन गर्दै आएका उनीहरु असार ३ गते नेपाल फर्किएका थिए । उनीहरुलाई सीमा क्षेत्रबाट नगरपालिकाले उद्धार गरी नेपाली सेनाको बेलसोत क्याम्पमा राखेको थियो । सँगै आएकी श्रीमतीलाई कोरोना नदेखिएपछि उनलाई सेनाकै क्वारेन्टाइनमा राखिएको छ भने अन्यलाई उपचारका लागि बेल्टार लगिएको छ ।

त्यस्तै असार ९ गते तेश्रो मुलुक कुवेतबाट आएकी त्रियुगाकी महिलालाई भने त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा राखिएको थियो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । अहिलेसम्म उदयपुरमा १९ जना महिलासहित ६७ जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ५१ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ सय ६० जना महिलासहित तीन हजार ५ सय ९२ ले पीसीआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये ३ हजार ३ सय ८२ जनाको रिर्पोट आइसकेको छ । त्यस्तै १ सय ६२ जना महिलासहित ८ सय ८ जनाको आरडिटी टेष्ट भइसकेको छ । त्यसमध्ये २ जना पुरुष १ जना महिलामा पोजिटिभ देखिएको छ भने बाँकी सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए ।

कार्यालयकाअनुसार २९ जना महिला र १ सय ६५ जना पुरुष गरी १ सय ९४ जना क्वारेन्टाईनमा रहेका छन् भने १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होमक्वारेन्टाईनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्