हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

नेपालीलाई राजदूत पराजुलीले गरिन् जहाजभित्रै चढेर विदाई

काठमाडौँ । कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १७९ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको तेस्रो चार्टर उडानमार्फत शुक्रबार स्वदेश फर्किएका हुन् । मस्कटस्थित नेपाली दूतावासका अनुसार सो उडानमा १४६ पुरूष, ३३ महिला, २ नाबालक र १ तीन महिनाको शिशु स्वदेश फर्किएका हुन् । यसअघि सलाम एयरकै २ वटा उडानमार्फत ३११ नेपाली स्वदेश फर्किसकेका थिए ।काठमाण्डौँका लागि जहाज उड्नुअघि यात्रुहरू तथा चालकदलका सदस्यहरूको कोरोना भाइरसको संक्रमण नभएको पिसिआर परीक्षणको रिपोर्ट रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

स्वदेश फर्किने नेपालीहरुलाई विदाई गर्न ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल स्वयम मस्कटस्थित अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् । उनले उड्न लागेको जहाजभित्रै चढेर विदाईको हात हल्लाउँदै सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना समेत दिएकी थिइन् ।त्यस्तै स्वदेश फर्कन लागेका नेपालीकाे यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी कृष्णा कुमारी गौली, सहचारी अनिल रानालगायत कूटनीतिक तथा स्थानीय कर्मचारी, नेपाली सोसल क्लबका सदस्यहरू र मस्कट कोभिड–व्यवस्थापनका स्वयम्‌सेवी सदस्यहरू समेत विमानस्थल पुगेका थिए ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले ११५ ओमनी रियल (नेपाली करिब ३६ हजार १ सय) भाडा लिएको थियो। जुन नेपाल सरकारले तोकेको भाडादर भन्दा निकै सस्तो हो । सरकारले ओमनबाट फर्किन ६१ हजार रुपैयाँ भाडा दर तोकेको थियो ।