हाम्रो देश
४ कार्तिक २०७७, मङ्गलवार

‘नेताहरू धनी भए र जनतालाई गरिब बनाए भन्ने कुरामा सत्यता छैन’ : बडाल

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य केशव बडालले श्रमजीवि नेपाली जनताका जीवन उकासिनुपर्छ भन्नेमा जोड दिएका छन् । पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कबा प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने,‘यसका लागि सबै केन्द्रित हुनुपर्छ भन्ने मनशायप्रति म सम्मान जाहेर गर्दै नेताहरू धनी भए, र जनतालाई गरिब बनाए भन्ने कुरामा सत्यता छैन ।’

 

उनले लाखौँ कार्यकर्ताहरू आज पुष्पलालको सिद्धान्तबाट बञ्चित नभएको र सोही आदर्शबाट अघि बढ्नका निम्ति समर्पित भएर लागेका पनि बताए । केही व्यक्तिमा देखापरेका जीवनशैलीलाई लिएर सिंगो पार्टी नै त्यस्तो भएको भन्न नमिल्ने उनको तर्क छ । प्रस्तुत छ नेता बडालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

आज पुष्पलाल स्मृति दिवस । नेपालको कम्युनिष्ट आन्दोलनको शिखरपुरुष । नेपालमा कम्युनिष्टहरूको सरकार छ । पुष्पलालको सिद्धान्तलाई तपाईहरूले परित्याग गर्नुभएको हो ?

नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, राणाशाही विरुद्धको आन्दोलनका शिखरपुरुष, नेपाली जनताका श्रद्धाका केन्द्रविन्दु आदरणीय पुष्पलाल कमरेडप्रति अभिवादन प्रकट गर्ने अवसर दिनुभएकोमा म ऋषि जी र श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँ नेपालमा कम्युनिष्ट आन्दोलनमा मात्र होइन राणाशाही शासनको अन्त्य र कम्युनिष्ट पार्टीको स्थापना गर्ने, कम्युनिष्ट पार्टीको घोषणापत्र पहिलोचोटि नेपाली भाषामा अनुवाद गर्ने नेपाली जनतामा कार्ल माक्र्सले के दिनुभएको थियो भन्ने सिद्धान्त लैजाने कुरामा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नमा अगुवाई गर्ने उहाँ अतुलनीय हुनुहुन्छ ।

 

उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । धेरै अप्ठ्यारा समय २००६ सालपछि उहाँसँगको मेरो अन्तिम भेट २०३३ सालको दशैँमा बनारसमा भएको थियो । उहाँ त्यस बेलामा असाध्यै पीडायुक्त अवस्थामा हुनुहुन्थ्यो । त्यतिखेर मदन भण्डारी र जीवराज आश्रित, वामदेव गौतम, नेत्रलाल अधिकारी, हरिराम शर्मा लगायतका पार्टीका नेताहरूले छोडेको अवस्था र पार्टी एकदम कमजोर भएको अवस्था थियो । त्यतिखेर बडो अप्ठ्यारो अवस्थामा हुनुहुन्थ्यो ।

 

उहाँसँगको त्यो २ दिनको बसाइँ, सँगै बस्दाखेरिको अत्यन्त भावनायुक्त भावुक अवस्था थियो, उहाँको । आर्थिक अवस्था अत्यन्तै जटिल थियो । उहाँलाई पार्टी र परिवारबाट साथ भएको भए २०३५ सालमा हामीले उहाँलाई गुमाउनुपर्ने अवस्था हुँदैन थियो । त्यतिखेर चौथो महाधिवेशनमा गद्दार पुष्पलाल भन्ने पुस्तक मोहनविक्रमले लेखेर पार्टीको कार्यकर्ताको बीचमा षड्यन्त्र जुन गरियो, त्यो असाध्यै नगर्न पर्ने काम भयो ।

पुष्पलाल श्रेष्ठको एउटा सपना थियो–नेपाल कम्युनिष्ट पार्टीको सरकार बनोस् भन्ने । त्यो सपना पूरा भयो । तर आज आएर तपाईले भन्नुभयो, उहाँको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो, नाजुक थियो । आजका नेपाल कम्युनिष्ट पार्टीका नेता सम्पन्न भए, धनी भए । जनता गरिब छन् । बंगला छ, सबै सेवा/सुविधामा नेताहरू छन् । जनता पीडामा छन्, गरिब, असहाय, मजदुरहरूको समस्या जहाँको तहीँ छ । के भन्नुहुन्छ ?

श्रमजीवि नेपाली जनताका जीवन उकासिनुपर्छ । यसका लागि सबै केन्द्रित हुनुपर्छ भन्ने मनशायप्रति म सम्मान जाहेर गर्दै नेताहरू धनी भए, र जनतालाई गरिब बनाए भन्ने कुरामा सत्यता छैन ।

किन छैन ? कुन–कुन नेताहरूको बंगला छ काठमाडौँमा ?

पार्टीका लाखौँ कार्यकर्ताहरूले ३५–४० वर्षदेखि लगातार समर्पण गरेको र आर्थिक रूपले लाभ प्राप्त नगरिकन अहिलेसम्म कमरेड पुष्पलाल, कमरेड मदन भण्डारीले सार्नुभएको सिद्धान्तलाई बोकेर अगाडि बढिराख्नुभएको छ ।
शीर्ष नेताहरूको कुरा गरौँ । नेतृत्वमा पुगेका नेताहरूको कुरा गरौँ ।

लाखौँ कार्यकर्ताहरू आज पुष्पलालको सिद्धान्तबाट बञ्चित भएका छैनन् । आदर्शबाट अघि बढ्नका निम्ति समर्पित भएर लागेका पनि छन् । केही व्यक्तिमा देखापरेका जीवनशैलीलाई लिएर सिंगो पार्टी नै त्यस्तो भएको होइन ?

तपाईको पार्टीका शीर्ष नेताहरूको मूल्यांकन गर्नुस् न । सिंगै पार्टी आज व्यक्तिगत स्वार्थमा गईसक्यो । शक्ति संघर्ष छ ।
पुष्पलालको सादा जीवन, उच्च विचार र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, समाजवादी समाज निर्माण गर्ने जुन अठोट छ, अठोटबाट विचलित नहुन म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । पुष्पलालको जीवनलाई गहिराइसम्म अध्ययन गर्न, उहाँप्रतिको आदर सम्मान गर्न, उहाँको भावना र व्यवहारलाई ग्रहण गर्न म अनुरोध पनि गर्न चाहन्छु ।

श्रमजीवि जनताको लागि काम गर्ने पार्टी हो, नेपाल कम्युनिष्ट पार्टी भनेको ?

अवश्य हो ।

आज श्रमजीवि जनताको समस्या के छ ? जनता रोइरहेका छन् । खान पाएका छैनन्, तपाईहरू झगडामा हुनुहुन्छ । व्यक्तिगत स्वार्थमा तपाईहरू तल्लीन हुनुहुन्छ ?

झगडा २००६ सालदेखि नै थियो । त्यतिखेर महासचिवबाट पुष्पलाल कमरेडलाई हटाइयो । त्यसमा जसले गल्ती गरे, तिनीहरूप्रति मेरो आलोचना छ । पञ्चायत व्यवस्थाले सारा दमन गरेको अवस्थामा तुलसीलालले ७२ भोट र पुष्पलालले १२ भोट पाउनुभयो । विवादहरू विगतमा पनि भयो । धेरै साथीहरू मनमोहन अधिकारी लगायत धेरै साथीहरू जेलमा हुनुहुन्थ्यो ।

 

महाधिवेशनपछि गद्दार पुष्पलाल भन्ने पुस्तक प्रकाशित भयो, त्यसले मेची महाकालीसम्म प्रसार हुने काम भयो, जुन गलत काम भयो । उहाँहरूले गम्भीरतापूर्वक अर्को आत्मआलोचनाको किताब प्रकाशित गर्नुपर्छ । मोहनविक्रम र पुष्पलालबीच जुन विवाद थियो, त्यो गलत थियो । त्यसैगरी अहिले पनि नेताहरूबीच जुन विवाद र झगडा छ । कमरेड पुष्पलालको सम्झना गरेर अन्तर्विरोधलाई वैज्ञानिक ढंगले हल गर्ने, पार्टी एकतालाई व्यवस्थित गर्ने गरी नेताहरू अगाडि बढ्नुपर्छ । एकले अर्काको कमी कमजोरीलाई करेक्सन गर्न स्वस्थ आलोचना गर्न अगाडि बढ्यौँ भने कमरेड पुष्पलालप्रति श्रद्धा ठहरिन्छ ।

सही काम गर्नुस् । जनताका लागि काम गर्नुस् । व्यक्तिगत स्वार्थमा कहिले पनि नलाग्नुस् । तपाईलाई आज किन धन सम्पति चाहियो । जनताको मनमा बस्नुस्, नेता भईसकेपछि ?

तपाईको भनाईप्रति मेरो शतप्रतिशत समर्थन छ । नेता, कार्यकर्ता सबै आत्मकेन्द्रित नभई सिंगो श्रमजीवि जनताप्रति समर्पित भाव राखेर अगाडि बढ्न विशेष अनुरोध गर्छु । अन्तिम समयसम्म जनताको लागि लड्ने अठोट पनि व्यक्त गर्दछु ।

हामीले धेरै नेताहरूको जीवनशैली देख्यौँ । वी.पी. कोइरालाको पनि हामीले देख्यौँ । उहाँको सरल जीवनशैली थियो ?

वी.पी. कोइरालासँग पनि मेरो भेट भएको छ । पार्टी फरक भए पनि पुष्पलालप्रति हामीले आदर गर्ने हो । मैले लेखेको किताबमा १ नम्बरमा वी.पी. लाई राखिएको छ । २ नम्बरमा पुष्पलाल कमरेडलाई राखिएको छ । यी भनेका राष्ट्रका नेता हुन्, पार्टीका मात्र होइनन् । यसरी सम्मान पनि गरिरहेका छौँ र त्यो आजीवन गरि नै राख्ने म अठोट गर्दछु ।

द्वन्द्व र विवादमा नलाग्ने किसिमको नेता चाहियो । जनताको साझा बन्नुप¥यो, नेताहरू भनेको । पुष्पलाल जस्तो, वी.पी. कोइराला जस्तो दूरदर्शी नेता चाहियो । सरल जीवनको कुरा गर्दा मनमोहन अधिकारी जस्तो । मैले उहाँसँग धेरै अन्तर्वार्ता लिएको छु । आज म गणेशमान जीलाई पनि सम्झन चाहन्छु । गणेशमान सिंहले प्रधानमन्त्री जस्तो पद त्याग गर्नुभयो, अहिलेका नेताहरू प्रधानमन्त्री पद खान झगडा गर्छन् ।

आत्मकेन्द्रित नहुन, एकले अर्कालाई सम्मान गर्न, कमी कमजोरी करेक्सन गर्न, आत्मआलोचित हुन र पार्टी एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ । म दुई पार्टीलाई नै भन्छु, नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसलाई । वी.पी. कोइरालालाईमा पनि उत्तिकै श्रद्धा गर्न चाहन्छु र पुष्पलाल कमरेडलाई उत्तिकै आदर गर्न चाहन्छु । उहाँहरूको आदर्शलाई बोकेर यी दुवै पार्टी अगाडि बढ्यो भने यो देशलाई समृद्ध नेपाल बनाउने कुरामा हामी सफल हुन्छौँ ।

file photo

प्रतिकृया दिनुहोस्