हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

टेकुमा कोरोना जँचाउने भिड घट्यो !

काठमाडौं । निषेधाज्ञाको पहिलो दिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु सुनसानजस्तै थियो । अरु दिनजस्तो कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा परीक्षण गर्न पुग्नेहरुको संख्या नगन्य मात्र थियो ।

जब कि अरुबेला दैनिक हजार/दुई हजार मानिस अस्पताल पुग्थे र केही सयको नमूना संकलन हुन्थ्यो । दिनहुँ टेकु अस्पतालमा पुगेर स्वाब दिएकामध्ये संक्रमणग्रस्त क्षेत्रबाट आएका अधिकांशमा कोरोना पोजेटिभ देखिएको थियो ।

तर, बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी भएपछि संक्रमणग्रस्त क्षेत्रबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरु अस्पताल पुग्ने बाटो बन्द भएको छ ।

विज्ञहरुका अनुसार आशंकितहरु बेलैमा अस्पताल गएनन् भने संक्रमितले परिवारका अरु सदस्यलाई पनि कोरोना भाइरस सार्ने सम्भावना बढेर जान्छ । पछिल्लो समय काठमाडौं उपत्यकामा ‘फेमेली क्लस्टर’ मा संक्रमण भएका केसहरु बढ्दो मात्रामा देखिएका छन् । चिकित्सकहरुका अनुसार संक्रमणग्रस्त क्षेत्रबाट आएको व्यक्तिबाट परिवारका पुरै सदस्यलाई सरेको केससमेत भेटिएको अवस्था छ ।

त्यसैले, निषेधाज्ञाको समयमा सम्भावित संक्रमितको पहिचान र उनीहरुलाई परिवारबाट आइसोलेट गर्न सकिएन भने फेमेली क्लस्टरमा संक्रमण अझ बढेर जान्छ ।

लक्षण भएका तथा शंका लागेर परीक्षण गराउन चाहनेहरुलाई निषेधाज्ञाकै कारण अस्पतालसम्म पुग्न गाह्रो भएको हो कि भन्ने देखिएको भन्दै टेकु अस्पतालका डा. अनुप बास्तोला भन्छन्, ‘शंकास्पद संक्रमितहरुलाई परीक्षण गर्ने स्थानहरुमा पुग्न सक्ने वातावरण बेलैमा बनाउनुपर्छ ।’

तर, इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डे भने विषेधाज्ञाको समयमा सम्भावित संक्रमितहरुलाई अस्पताल जान नरोकिने बताउँछन् ।

त्यसैगरी, काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयबाट पनि स्वाब संकलन गर्ने व्यवस्था गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनलाइनखबरलाई बताए ।

‘७ दिनमा चेन ब्रेक गर्न गाह्रो छ’

जनस्वास्थ्य विज्ञहरुका अनुसार निषेधाज्ञाले काठमाडौं उपत्यकामा गरिएको संक्रमणलाई समुदाय स्तरमा फैलिन एक हदसम्म रोक्छ । किनकि निषेधाज्ञापछि संक्रमित भएका तर पहिचान नभएका एक ठाउँका मान्छे अर्को ठाउँमा पुग्न र भेला हुन सहजै सक्दैनन् ।

तर, यतिले मात्रै संक्रमण रोक्दैन, कमजोर पक्षमा सुधार गर्नुपर्ने जनश्वास्थ्य विज्ञहरु बताउँछन् ।

अहिले संक्रमणग्रस्त क्षेत्रबाट उपत्यकामा आएका मानिसहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यो निषेधाज्ञाको समयमा संक्रमणग्रस्त क्षेत्रबाट आएकाहरुको पहिचान गरेर परीक्षण गर्ने, संक्रमण देखिए आइसोलेट गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

तर, उनीहरु सबैलाई होम आइसोलेसनमा राख्न पनि गाह्रो छ । ‘भौतिक दुरी कायम गर्ने, छुट्टै शौचालय प्रयोग गर्ने अवस्था सबै कहाँ हुँदैन’ एक चिकित्सक भन्छन्, ‘होम आइलेसनमा बस्दा छुट्टै कोठा पनि प्रयोग गर्नुभयो, तर शौचलय एउटै प्रयोग गरेकाले परिवारका सबै सदस्य संक्रमित भएका केसहरु पनि छन् । त्यसैले होम आइसोलेसन चुनौतीपूर्ण बन्दै गएको छ ।’

काठमाडौंका अस्पतालहरुमा बेड अभाव भइसक्यो । लक्षण नभएका वा सामान्य लक्ष्मण भएका मात्र होइन, गम्भीर बिरामीले समेत सहजै बेड पाउने अवस्था छैन । त्यसैले लक्षण नभएका तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई राख्न तत्काल आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरु संक्रमित हुने क्रम बढ्दो छ । यसले अस्पतालहरुको प्रभावमा असर गर्नुका साथै ननकोभिड उपचारका लागि अस्पताल पुगेकाहरु संक्रमित हुन सक्ने खतरा छ । त्यसैले स्वास्थ्यकर्मी र अस्पताललाई कसरी जोगाउने भन्नेतिर ध्यान दिनुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

साथै आईसीयू, भेन्टिलेटर लगायतका पूर्वाधारको अवस्था मूल्यांकन गरेर थप जोहो गर्नुपर्ने हुन्छ ।

मन्त्रालयको तथ्यांकअनुसार मंगलबार देशभरमा १२९ कोरोना संक्रमितको आईसीयू र ७ जना भेल्टिलेटरमा छ । देशभरमा गरी ४९६ भेल्टिलेटरसहित ९४६ आईसीयू बेड छन् । तर, उपत्यकाका अस्पतालका आईसीयूमा संक्रमितको चाप बढ्दो छ । यहाँ कोरोना संक्रमणग्रस्त क्षेत्रबाट आएका विरामीहरु छन् । ‘भोलि रिफर भएका सिकिस्त विरामीहरुको व्यवस्थापन चुनौतीपूर्ण हुनसक्छ’ डा. बास्तोला भन्छन्, ‘त्यसका लागि पनि अहिले नै सोच्नुपर्छ ।’

यसका बाबजुद एक सातामा कोरोनाको चेन ब्रेक गर्न गाह्रो हुने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । डा. बास्तोला भन्छन्, ‘संक्रमितले ७/८ दिनसम्म पनि अरुलाई सार्न सक्छ । त्यसैले एकसातामै यसको चेन ब्रेक गर्न गाह्रो छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतम पनि उपत्यकामा १० देखि १४ दिनसम्म निषेधाज्ञा गर्नुपर्ने बताउँछन् । ‘अहिले मानिसहरु लुखुर-लुखुर हिँडेर रोग सारेकाले निषेधाज्ञा गर्नुपरेको हो’ उनले भने, ‘अब घरमा बसेपछि उनीहरुले परिवारका सदस्यहरुलाई सार्न सक्छन् र, बुढाबढी, दीर्घरोग भएकाहरु अस्पताल पुग्छन् । उपचार सुविधा पाए, रोगसँग लड्न सके बाँच्छन्, नसक्ने धेरै मर्नेवाला छन् ।’

उनले अघि भने, उमेर भएकाहरु १४ दिनसम्म घरमा बसेर बाहिर आउँदा अरुलाई त सार्दैनन् ।’

साथै १० वा १४ दिनको निषेधाज्ञा खुकुलो भएपछि पनि उपत्यका प्रवेशमा रोक लगाउनुपर्ने मन्त्रालयका प्रवक्ता गौतम बताउँछन् ।

कतिपयले आईसीयू र भेन्टिलेटर चाहियो भन्ने गरेको सुनाउँदै उनले आक्रोश पोखे । ‘आईसीयू भेन्टिलेटर होइन, दुई मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने लेखौं’ डा. जागेश्वरले निर्देशनात्मक शैलीमा भने, ‘आईसीयू भेन्टिलेटर हुँदैमा बाँच्छन् भन्ने छैन । अमेरिका लगायतका देशले सकेनन्, नेपाल सक्छ ?’