हाम्रो देश
९ माघ २०७७, शुक्रवार

सरकारी जागिर छाडेर कृषि फर्ममा : दाङमा प्रदेश ५ कै सबैभन्दा ठूलो मेवा खेती

काठमाडौं : दाङको नारायणपुरमा ५ नम्वर प्रदेशकै सबैभन्दा ठूलो मेवा खेती सञ्चालनमा छ । शिद्धरत्ननाथ मावि नारायणपुरको अढाई विगाहा जग्गा बार्षिक ४५ हजार तिर्ने गरि लिजमा लिएर २ युवा मिलेर यो मेवा खेती गरेका हुन् ।

घोराही उपमहानगरपालिका–१५ मा बसोबास गर्दै आएका ४६ वर्षीय अधिवक्ता कुलबहादुर डाँगी र ४० वर्षीय शिक्षक तुलसीराम केसीले मिलेर मेवा खेती गरेका हुन् ।

अधिवक्ता डाँगीले समाजशास्त्रमा र केसीले जनसंख्यामा मास्टर्स पनि गरेका छन् । अधिवक्ता डाँगीले १५ बर्षसम्म सरकारी सेवा गरे । तीनै उच्च शिक्षा हासिल गरेका २ युवाहरु मिलेर मेवा खेती गरेका हुन ।

उनीहरुले मेवा खेती गर्नुपूर्व उक्त स्थान खुल्ला थियो । जुन जग्गामा उनीहरुले रेड लेडी जातको ३ हजारबढी मेवाको बोटहरु हुर्काएका छन् ।
उनीहरुले लगाएको मेवा ७ महिलापछि फल्न सुरु गरेको थियो । अहिले लटरम्म फलेको छ ।

प्रतिकेजी ५० रुपैयाँका दरले मेवा बिक्रि गर्दै आएको डाँगी बताउँछन् । एउटा बोटमा कम्तिमा पनि ३० देखि ४० केजीसम्म फल लागेको छ । एउटा मेवाको तौल साढे २ किलोसम्मको रहेको डाँगीले बताए ।

मेवा खेती सुरु गर्दा २४ लाख खर्च भएको उनीहरुले बताए । ‘रेड लेडी’ मेवाको जातहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिन्छ । ताइवानबाट बिउ मगाएर उनीहरुले यहिँ बेर्ना हुर्काएर रोपेका हुन् ।

काठमाडौँबाट एक सय ग्राम बिउको एक लाखमा किनेर ल्याएको अधिवक्ता डाँगीले बताए । ‘रेड लेडी’ जातको मेवाको बिउलाई एक किलोको १० लाखसम्म पर्ने गरेको उनले बताए ।

मेवामा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । मेवा उष्ण प्रदेशमा राम्रोसँग फल्ने गर्छ । दाङको वातावरण मेवा खेतीको लागि लागि उपयुक्त छ । मेवा ३५ डिग्री सेल्सियससम्मको तापकक्रम भएको ठाउँमा लगाउनु उचित मानिन्छ ।

मेवा एक पटक रोपेपछि ४ बर्षसम्म निरन्तर फल दिने जानकारहरु बताउँछन् । रेड लेडी जातको मेवाको बिरुवा लगाउँदा प्रतिबोट अढाई मिटरको बीचमा लगाउनुपर्छ । यो मेवा करिब ४ फिटदेखि ६ फिटसम्म अग्लो हुन्छ । ४ देखि ८ महिनामा फल दिन सुरु गर्छ ।

प्रतिकृया दिनुहोस्