हाम्रो देश
८ बैशाख २०७८, बुधवार

तरकारीले जोगायो साना व्यापारी

काठमाडौं । ‘ए कार्तिक खै ४० रुपैयाँ फिर्ता दे’ शिवकुमार ठाकुरले सय रुपैयाँको नोट दिँदै छोरालाई भने ।

ठाकुरले कुपण्डोलमा पान पसल चलाएको धेरै भयो तर अहिले उनी तरकारी बेचिरहेका छन् । उनी ग्राहकलाई तरकारी जोखेर दिन्छन्, छोरा काउन्टरमा बस्छन् ।

कार्तिक ‘लिनुस् अंकल’ भन्दै ४० रुपैयाँको नोट ग्राहकलाई थमाइदिन्छन् । ग्राहक आधा किलो तितेकरेला बोकेर बाटो लाग्छन् । हिजोआज ठाकुर बाउछोराको दैनिकी यसैगरी चलिरहेको छ । पान पसलको व्यापार ठप्प छ । सरकारले ४ महिना लामो लकडाउन र त्यसपछि निषेधाज्ञा जारी गर्‍यो । ६ महिना बन्दाबन्दी हुँदा पाँचजनाको ठाकुर परिवारलाई निकै तनाव भयो ।

भएको पसल खोल्न नपाउँदा निकै तनाव भयो, तर तनाव लिएर पनि नहुने’ मेहेता सुनाउँछन्, ‘त्यसपछि लकडाउनका बेला सरकारले खोल्न दिने सामानको व्यापार गर्ने सोच आयो ।’

लकडाउन कहिले खुल्ने ठेगान थिएन, कोरोना संक्रमित थपिइरहेका थिए । त्यस्तो बेला तरकारी पसल उपयुक्त ठहरियो । नभन्दै, व्यापार ठीकठिकै भयो । बिहान झिसमिसेमै साइकलमा कालीमाटी पुग्ने ठाकुर मानिसहरू सडकमा निस्कँदासम्म पान पसल अगाडि तरकारी फिजाइसक्छन् ।

साँझ पनि ५ बजेसँगै उनले तरकारी निकाल्छन् । उनलाई तीन छोरामध्ये व्यवसायमा अलि रूचि भएका माइला कार्तिकले साथ दिएका छन् । दिउँसो तिनै भाइ अनलाइन कक्षा लिन्छन् । लकडाउन चलिरहँदा पनि तिर्नुपर्ने स्कुलको शुल्क र घरभाडा तरकारी बेचेर जुटाउनु परेको छ ।

गतिलो आम्दानी नभए पनि यस्तो संकटका बेला आफू सन्तुष्ट नै रहेको ठाकुर बताउँछन् । लकडाउन पूरै हटेपछि भने पान पसल नै चलाउने उनले सुनाए ।

कुपण्डोलमै खाना–खाजा होटल चलाएका रामेछापका राम र अमित श्रेष्ठ दाजुभाइ लकडाउनमा घरभित्रै थुनिएर बस्न बाध्य भए । दाजु र भाइलाई व्यवसायमा साथ दिइरहेकी बहिनी पनि पूरै खाली भइन् । बसेको र होटेल राखेको भाडा भने तिर्नै पर्ने भएपछि उनीहरूले पनि ठाकुरकै जस्तो जुक्ति निकाले ।

‘अनुभव त थिएन तर परेपछि गरिने रहेछ’, अमित भन्छन्, ‘भाडा तिर्न सकिने भयो, त्यसमै खुसी छौं ।’

पसलमाथि होटलको बोर्ड टाँगिएको छ, तल तरकारीको थुप्रो छ । उनीहरूले अलि निकै नै तरकारी राखेका हुनाले ग्राहक पनि धेरै नै आउँछन् । पसलमा तिनै जना खट्छन् ।

भोलि सहज भएपछिचाहिँ उनीहरू पनि होटल नै चलाउने सोचमा छन् ।

कुपण्डोलमै चिया–खाजा पसल गरिरहेका श्याम शर्माले पनि लकडाउनमा थुनिनुभन्दा तरकारीको व्यापार गर्ने सोच बनाए । आफूले तुलनात्मक हिसाबले केही सस्तोमा तरकारी बेचेको उनी बताउँछन् ।

खाजा पसलमा शर्मा दम्पती नै खटिन्थे । परिवार चलाउन लकडाउनले निकै समस्या पार्ने देखेपछि उनीहरूले तरकारी बेच्ने सोच बनाए । ‘छोराछोरीको स्कुलको शुल्क तिर्न पनि केही न केही त गर्नैपर्ने थियो’, शर्मा भन्छन्, ‘तरकारी व्यापारले राहत दिएको छ ।’

व्यापार भने सोचे जस्तो नभएको उनले सुनाए । लकडाउन अवधिमा जताततै तरकारी र फलफूल पसल खुलेको उनी बताउँछन् । उनी भन्छन्, ‘तरकारीमा राम्रै फाइदा हुने रहेछ तर त्यसका लागि व्यापार हुनुपर्‍यो ।’

कुपण्डोलमै सटर भाडामा लिएर पानीपुरी र चटपट बेच्दै आएका भारत, मोतीहारीका राम स्वरूपले पनि भाडा तिर्नै पनि लकडाउनमा तरकारी बेचेर गुजारा गर्ने सोच बनाए । यो जुक्तिले ठूलो काम गरेको उनको अनुभव छ ।

‘लकडाउन लम्बिँदै जाँदा घर फर्कन पनि सम्भव भएन । एक त पसल खोल्नै नपाइने, फेरि खोले पनि कोरोनाको बेला पानीपुरी खान कोही नआउने’, उनी भन्छन्, ‘यस्तो आपत्मा डराउँदै सुरु गरेको तरकारी व्यापारले ठूलो राहत दियो ।’

प्रतिकृया दिनुहोस्