हाम्रो देश
४ माघ २०७७, आइतवार

अमेरिकाले नेपाललाई सिधै हेर्छ कि भारतीय आँखाबाट ?

काठमाडौं । अमेरिकाले नेपाललाई सिधै हेर्छ कि भारतीय आँखाबाट ? विगत केही दशकयता नेपाल भ्रमणमा आउने उच्च अमेरिकी अधिकारी र काठमाडौँस्थित अमेरिकी राजदूतलाई बारम्बार सोधिनेे प्रश्न हो यो ।

अमेरिकी अधिकारीहरुले पटक-पटक आश्वस्त पारिरहेका छन्- हामी नेपाललाई भारतीय आँखाबाट हेर्दैनौं, सिधै हेर्छांै । तर, नेपाली नेता र कूटनीतिज्ञ यसमा पूर्णरुपमा विश्वस्त छैनन् ।

सन् २०१८ मा अमेरिका भ्रमणमा जानु केही दिन अगाडि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका थिए, ‘म अमेरिकी अधिकारीलाई भारतीय आँखाबाट होइन, सिधै हेर्न आग्रह गर्नेछु ।

पछिल्लोपटक अमेरिकी विदेशमन्त्रीको भारत भ्रमण र त्यहाँ भएका केही सहमतिपछि राजनीतिक र कूटनीतिक वृत्तमा बहस भइरहेको छ- भारतसँग सम्बन्ध सुधि्रएपछि अमेरिकाले नेपाललाई सिधै हेर्ला कि भारतीय आँखाबाट ?

अमेरिकी विदेशमन्त्री माइक पम्पियो दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली मुलुकहरु भारत, श्रीलंका, माल्दिभ्स, भियतनाम र इन्डोनेसियाको भ्रमण गरे तर, नेपाल छुटाए ।

भ्रमणका क्रममा भारतसँग महत्वपूर्ण रक्षा सम्झौता भयो र अन्य धेरै विषयमा उनीहरु नजिकिए । यति मात्र होइन, दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव कम गर्न मिलेर काम गर्ने सहमतिसमेत भयो ।

इतिहासलाई हेर्ने हो भने नेपालको मामिलामा भारत र अमेरिकाको वीचमा केही विषयमा मात्र होइन, परियोजनामा समन्वय भएको पाइन्छ । अमेरिकी अधिकारीहरु नेपाललाई आफूहरुले भारतीय आँखाबाट नर्हेर्ने, तर केही विषयमा भारतसँग समन्वय हुने बताउँछन् ।

सन् १९७०/८० को दशकमा अमेरिकाले नेपाललाई कुनै सैन्य सामाग्री प्रदान गर्दासमेत भारतसँग केही समन्वय भएको पाइन्छ, जसको उद्देश्य भारत उत्तेजित नहोस् भन्ने हो ।

त्यतिबेला यति मात्र होइन, नेपालले कुनै ठूलो परियोजना र सहयोग लिँदा भारतबाट नै अनौपचारिक सहमति लिओस् भन्ने धारणासमेत थियो ।

यति मात्र होइन, सन् १९५० को दशकमा नेपालमा चीनको प्रभाव कम गर्न केही नेपालमा केही आर्थिक परियोजना सञ्चालन गर्नका लागि अमेरिकाले भारतसँग समन्वय गरेको थियो ।

त्यसपछि सन् १९६० को दशकमा चीनले नेपालमा भारतको प्रभाव कम गर्ने नीति लिएको भन्दै अमेरिकाले भारतले नेपालका सम्बन्धमा लिएको नीतिलाई समर्थन गरेको थियो ।

तर, सन् १९७० र १९८० मा भने नेपाल लगायतका भारतका छिमेकी मुलुकहरुको सम्बन्धमा भारत र अमेरिकाको बीचमा केही भिन्नता देखिएको थियो ।

पछिल्लो दुई दशकमा घटेका केही घटनाक्रमलाई हेर्ने हो भने पनि अमेरिकाले नेपाल मामिलामा भारतसँग समन्वय गर्ने गरेको पाइन्छ । एक पूर्वराजदूत भन्छन, ‘अनौपचारिक कुराकानीका क्रममा अमेरिकी अधिकारीहरु नेपाललगायतका दक्षिण एसियाली मुलुकको नीति बनाउँदा भारतसँग नजिकबाट समन्वय गर्ने गरेको बताउँछन् ।

सन् २०१५ मा नेपालले संविधान जारी गरे पनि भारतले नाकाबन्दी लगायो तर, अमेरिकालगायतका ठूला मुलुकहरुले त्यसमा खासै बोलेनन् । उनीहरुले नेपालमा मानवीय संकटको विषय उठान गरे, तर समग्रमा मौन नै बसे । त्यसैले पनि धेरैलाई लाग्यो, अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेरेका कारण त्यसो भएको त होइन ? किनकि नाकाबन्दीको विषयमा बोलेर उसले भारतलाई चिढाउन चाहेन् ।

तर, अमेरिकी अधिकारीहरुले भने आफूहरुले मानवीय संकटको विषयमा कुरा उठाएको र भारतीय अधिकारीहरुसँग पनि कुराकानी गरेको बताउने गरेका छन् । त्यस अगाडि नेपालमा गएको ठूलो भूकम्पको उद्धार र पुर्नस्थापनाको विषयमा अमेरिका र भारतीय अधिकारीले समन्वय गरेका थिए ।

तत्कालीन सात राजनीतिक दल र माओवादीको वीचमा १२ बुँदे सहमति हुनै लाग्दा त्यसलाई रोक्नका लागि अमेरिकाले काठमाडौँ र नयाँ दिल्लीमा त्यसलाई रोक्नका लागि ठूलो लबिङ गरेको थियो । अमेरिकाले तत्कालीन राजा ज्ञानेन्द्रलाई दलहरुसँग मिल्नको लागि आग्रह गरेको थियो ।

नेपालका लागि तत्कालीन राष्ट्रपति जेम्स अफ मोरियार्टीले १२ बुँदे सहमति नहुनको लागि ठूलै पहल गरेका थिए । तर, जब १२ बुँदे सहमति भयो अमेरिकाले यसलाई अनुमोदन गर्‍यो र यसलाई १२ बुँदे सहमति भन्यो । मोरियार्टी दिल्लीमा परामर्श गरेर फर्किएपछि सो सहमतिका बारेमा मौन बसेका थिए । त्यसपछि अनमिन र माओवादी लडाकुको बारेमा पनि अमेरिका र भारतका वीचमा एक प्रकारको समन्वय भएको देखिन्छ ।

तर, सन् २००९-१० पछि भने अमेरिका भारतप्रति धेरै निर्भर नरही स्वायत्त नेपाल नीतिमा केन्दि्रत रहेको देखिन्छ । त्यसपछि अमेरिकाले शान्ति प्रक्रियाको समापन, प्रजातान्त्रिक संविधान, सुरक्षा क्षेत्रको सुधार, कानुन शासनको वृद्धि, मानव अधिकार र विकासको पक्षमा उभिने निर्णय लियो ।

सन् २०१५ मा संविधान जारी भएपछि र भारतीय नाकाबन्दीपछि भने अमेरिकाले नेपाल मामिला अझ सिधै हेर्न थालेको विश्लेषकहरुको धारणा छ । त्यसपछिका बर्षहरुमा त्यो झन स्पष्टरुपमा नै देखियो ।

सन् २०१७ मा नेपालमा संविधान अनुसार नयाँ निर्वाचनको तयारी अगाडि बढेपछि त्यसमा भारतको केही रिजर्भेसन थियो । तर, अमेरिका भनेे निर्वाचनको पक्षमा उभियो । त्यसपछिका बर्षहरुमा नेपाल र अमेरिकाको विचमा एमसीसी सम्झौतामा हस्ताक्षर भयो ।

अमेरिकाले नेपाली सेनालाई प्रदान गर्ने सहायतमा समेत निकै बृद्धि भईरहेको छ । त्यहीपछि अमेरिकी उच्च अधिकारीहरुले निरन्तर रुपमा नेपालको भ्रमण गरेका छन् ।

यति मात्र होइन, अमेरिकाले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई औपचारिक भ्रमणमा बोलायो र उसले नेपालले इन्डोप्यासेफिक क्षेत्रमा केन्द्रीय भूमिका खेल्ने बतायो ।

इतिहासलाई हेर्ने हो भने नेपाल र भारतको वीचमा त्यति राम्रो सुमधुर सम्बन्ध नरहँदा अमेरिकाले नेपालको मामिलामा भारतसँग कम समन्वय गरेको पाइन्छ ।

तर, पछिल्लो समयमा भारत र अमेरिका वीचको निकटता बढ्दो छ । विशेषतः चीन, सुरक्षा, व्यापार, लगानी लगायतका विषयमा भारत र अमेरिकाको वीचमा सहकार्य अगाडि बढिरहेको छ ।

इन्डोप्यासेफिक, क्वाडमा पनि सहकार्य अगाडि बढेको छ । यी सबै सहमतिको विषय चाहिँ यस क्षेत्रमा चीनको प्रभाव कम गर्नु नै हो ।

यसरी अमेरिका र भारतका वीचमा सहकार्य बढ्दा नेपाल नीतिमा दुई मुलुकले समन्वय र सहकार्य गर्ने सम्भावना बढ्ने विश्लेषकहरु बताउँछन् ।

वासिङनस्थित थिङ्क ट्याङक नेपाल म्याटर्स फर अमेरिकाका संस्थागत डा. अनिल सिग्देल भने भारतसँग अमेरिकाको पार्टनरसिप बढ्ने भए पनि नेपाल मामिला अमेरिकाले सिधै हेर्ने बताउँछन् ।

डा. सिग्देलले अमेरिकाले जहिले पनि नेपालसँग सिधै डिल गर्न चाहने भएकाले नेपालले त्यहीअनुसारको सन्देश दिनुपर्ने बताए । उनले भने, ‘अमेरिका भारतमार्फत होइन, नेपालसँग सिधै डिल गर्न तयार हुन्छ । तर, हाम्रो नेतृत्वले भने हाम्रोसँग ‘रेस्पोन्स’ गरेको छैन ।

प्रतिकृया दिनुहोस्