हाम्रो देश
९ माघ २०७७, शुक्रवार

सिरहाको फुटपाथमा पाउरोटी बेच्नेदेखि लण्डनस्थित पाँचतारे होटलको हेड सेफसम्म

सिरहा । पिताको निधनपछि आमाको सहारा बनेको एउटा सानो बालक, जीविकोपार्जनका लागि आमाछोराले गरेको संघर्ष, अनि पछि ठुलो भएर त्यो छोराले एकपछि अर्को गर्दै आफ्ना सपना साकार पार्दै आमाको चरणमा खुसी सजाइदिएको दृष्य धेरैका लागि कुनै चलचित्रको कथावस्तुजस्तो लाग्न सक्छ । यो कुनै चलचित्रको कथावस्तु होइन । अहिले लण्डनमा रहेका ३५ वर्षीय सन्तोष साहको जीवन भोगाइ हो यो । सिरहा, कर्जन्हाका सन्तोष साह ५ वर्षको हुँदा उनका बुवाको निधन भएको थियो । बुवाको निधनपछि आमाको सम्पूर्ण जिम्मेवारी सन्तोष साहकै काँधमा आयो ।

हुन त सन्तोषका चारजना दाजु छन् । जतिबेला उनलाई दाजुहरुको अभिभावकत्वको खाँचो थियो, उनले कसैबाट साथ र सहयोग पाएनन् । उनीहरु आ–आफ्नो व्यापार, व्यवसाय तथा जागिरमा व्यस्त थिए । आमा र आफ्नो वास्ता दाजुहरुबाट नभएपछि सानै उमेरदेखि सन्तोषले मजदुरी गरेर गुजारा चलाउनु परेको थियो ।

५–६ वर्षको उमेर आमाको काखमा खेलेर बिताउने समय मानिन्छ । तर सन्तोष कर्जन्हा बजारमा गएर मजदुरी गर्थे । कर्जन्हामा लाग्ने साप्ताहिक बजारमा सन्तोषले कहिले पोलोथिन, त कहिले पाउरोटी, कहिले भुजा (मुरही), झिल्ली (एक प्रकारको खानेकुरा) बेच्थे । यसरी उनले दैनिक २०÷३० रुपैयाँ कमाउँथे । उक्त रकमबाट उनको र उनकी आमाको जसोतसो गुजारा चल्थ्यो ।

विगतलाई स्मरण गर्दै सन्तोष भन्छन्, ‘जुन दिन कमाई हुँदैनथ्यो, त्यो दिन भोकै सुत्नु पथ्र्यो । यसरी भोकै त कति दिन सुतियो कति, हिसाब नै छैन ।’

पैसा बचाउनका लागि उनी गाडी चढ्दैनथे । कर्जन्हाबाट पाँच किलोमिटर टाढा हिँडेर गोदारी जान्थे उनी र त्यहाँबाट पाउरोटी खरिद गरेर ल्याएर बेच्ने गर्थे । उनी भन्छन्, ‘कमाइ २०–२५ रुपैयाँ हुन्थ्यो, त्यसैबाट पाँच रुपैयाँ तिरेर गाडी चढ्यो भने गुजारा गर्न गाह्रो हुन्थ्यो, त्यही भएर पाँच रुपैयाँ बचाउनका लागि पाँच किलोमिटर टाढा हिँडेर जान्थेँ ।’

त्यो त पढ्नका लागि उनलाई उनकी आमाले स्कूलमा नाम पनि लेखाइदिएकी थिइन् । तर उनी धेरैजसो स्कूल बाहिर हुन्थे । ‘पेट भर्ने जोहो गर्ने कि स्कूल जाने !,’ सन्तोष भन्छन्, ‘पढ्ने इच्छा त थियो तर घरायसी समस्याका कारण कहिलेकाहीँ मात्र स्कूल जान्थेँ, पढाइमा ध्यान थिएन, आमाको हेरचाह गर्नुपथ्र्यो, मजदुरी गर्नुृपथ्र्यो । जसोतसो टेस्ट त पास गरियो तर एसएलसी पास गर्न सकिएन ।’

आफ्नो उमेर सानै रहेको र आमा बुढी भएका कारण त्यतिबेला दाजुहरुले आफूहरुको जिम्मेवारी लिनुपर्ने भए पनि कसैले वास्ता नगरेपछि मेहनत मजदुरीमै आफूले बाल्यकाल बिताउनु परेको उनले बताए । हाल लण्डनमा रहेका सन्तोष साहले रातोपाटीसँग फोनमा कुरा गर्दै भने, ‘मेरो ठुलो दाजुले सिन्धुलीमा पसल गर्नुहुन्थ्यो, म आमालाई लिएर त्यहाँ गएँ । आमालाई त्यहाँ राखेर त्यतै केही काम पनि गर्छु र पढ्छु पनि भन्ने योजना थियो तर दाईले बस्न दिनुभएन । अनि आमा र फर्केर घर आयौँ ।’

चार दाजुमध्ये कसैले पनि बुढी आमा र आफ्नो दुःखमा साथ नदिएको उनको गुनासो छ । उनी दुःख र अभावका साथ हुर्किदै थिए । उनको उमेरसँगै दुःखको पहाड पनि अग्लिदैँ गयो ।

पाउरोटी बेचेर आमालाई सुख दिन सकिदैन भन्ने कुरा सन्तोषले बुझिसकेका थिए । १०–१२ वर्षकै उमेरमा उनले यति सास्ती व्यहोरे कि अब बाँच्नलाई के गरौं, कसो गरौं भन्ने लाग्न थालेको थियो ।

भारत प्रवेश

गाउँका युवाहरु हुलका हुल मजदुरीका लागि भारत जान्थे । उनलाई पनि एकपटक भारत गएर हेरौं जस्तो भयो । १५ वर्षको कलिलो उमेरमा उनी गाउँका राजदेव महासेठसँग भारतको गुजरात पुगे । त्यहाँ गएर के काम गर्ने भन्ने कुनै योजना थिएन उनीसँग । जे काम पाइन्छ, त्यही गर्ने भनेर उनी गुजरात पुगेका थिए । उनले एउटा होटलमा काम पाए । उनी भन्छन्, ‘जुठो भाँडा माझ्ने, टेबल सफा गर्ने काम सुरु गरेँ । महिनाको नौसय भारु तलब थियो ।’

त्यतिबेला सन्तोषका लागि नौसय भारुको महत्व धेरै थियो । जहाँ दिनको २०–२५ रुपैयाँमा गुजारा गर्थे, त्यहाँ नौ सय भारु प्रतिमहिना आउन थालेपछि सन्तोष साहका लागि खुसीको सीमा भएन ।

महिनाको एकसय रुपैयाँ घरभाडा तिर्नुपथ्र्यो । खानाका लागि आफूले काम गरेको होटलमै व्यवस्था थियो, बाँकी ८०० रुपैयाँ चोखो बच्थ्यो । पैसा कमाउने बाहेक उनको अरु कुनै चाहना थिएन ।

प्रत्येक महिना उनले आमाका लागि घरमा पैसा पठाउँथे । सानैदेखि आमासँग दुःख भोगेका सन्तोषले आमाको ख्याल निकै गर्दथे ।

ठुला होटल तथा रेष्टुरेन्टहरुमा सेतो लुगा लगाएर, सेतो टोपी भिरेका मान्छेहरु खाना पकाउँदै, पकिस्दै गरेको देख्दा उनलाई पनि त्यस्तै गरौं जस्तो लाग्थ्यो । त्यो कसरी सम्भव हुन्छ भनेर धेरैसँग उनले जिज्ञासा राखेका थिए । उनले सबैबाट एउटै जवाफ पाए– त्यसका लागि पढ्नुपर्छ ।

गाउँमा आर्थिक समस्याका कारण पढ्न नसकेका सन्तोषलाई त्यहाँ पढ्ने हुटहुटी जाग्यो । पढेर भए पनि होटलको सेफ बन्ने चाहना जाग्यो । उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै अर्को होटलमा काम सुरु गरेका थिए । त्यहाँ उनले सेफहरुको सहयोगीमा काम थालेका थिए । त्यहाँ उनले तन्दुरी रोटीका लागि आँटा मुछ्नुका साथै रोटी पकाउने भट्टीमा कोइला हाल्ने काम गर्थे । सेफहरुको साथमा काम गर्न पाउँदा उनी निकै खुसी थिए ।

त्यसपछि उनी सेफको तालिम दिने होटलमा काम गर्न थाले । उनले त्यहाँ काम गर्नुको साथै पढाइ (तालिम) पनि सुरु गरे । उनी भन्छन्, ‘म कामको खोजीमा एउटा होटलमा पुगेँ, त्यहाँ होटलसम्बन्धी पढाइ पनि हुन्छ भन्ने कुरा पछिमात्र थाहा पाएँ, अनि मैले होटल मालिकसँग कुरा गरेर आफ्नो तलबबाट मासिक केही रकम काटेर अध्ययनको समय मिलाइदिन आग्रह गरेको थिएँ, त्यो आग्रह उहाँले सहर्ष स्वीकार गर्नुभयो र मैले त्यहाँ कामका साथै पढाइ पनि गरेँ ।’

अंग्रेजी र कम्प्युटर सिकाइ

सन्तोषको लगनशीलता र मेहनत देखेर उनलाई एउटा पाँचतारे होटलले जागिर दियो । त्यो होटलमा काम गर्दा उनले अंग्रेजी भाषाको ज्ञान पनि चाहिने रहेछ भन्ने महसुस गरे । खाना पकाउने कलासँगै अंग्रेजी भाषाको ज्ञान पनि आवश्यक रहेको भन्दै उनले अंग्रेजी सिक्न थाले । अंग्रेजीका लागि उनले निकै मेहनत गरे । उनी भन्छन्, ‘सानैदेखि मेरो अध्ययन त्यति राम्रो थिएन, अंग्रेजी त परै जावस् । अंग्रेजी पनि चाहिने चिज रहेछ भन्ने थाहा पाएर मैले निकै मेहनत गरे, जहाँ राम्रो पढाउँछ, त्यहीँ गएर पढ्न सुरु गरेँ । एक दिनमा तीनवटा इन्स्टिच्युटमा पुगेर पनि अंग्रेजी पढ्थेँ, त्यसले गर्दा मलाई अभ्यास गर्न सजिलो बनाउँथ्यो, अंग्रेजी भाषा सिक्ने सबभन्दा राम्रो माध्यम भनेको प्रयोग हो, सिकेका कुरा प्रयोगमा ल्याउँथेँ र चाँडै अंग्रेजी पनि सिकेँ ।’

उनले अंग्रेजीमात्र होइन, कम्प्युटर पनि सिके । होटलमा काम गर्दा उनलाई कम्प्युटर सम्बन्धी ज्ञानको आवश्यकता महसुस भयो र उनले त्यो पनि सिके ।

अंग्रेजीमा राम्रो भएपछि सन्तोषमा आत्मविश्वास झन् बढेर आयो । उनले दोहोरो कुरा गर्न थाले । लेख्न पनि थाले । अर्को एक होटलमा काम गर्नका लागि उनले अन्तरवार्ता दिए । त्यसमा पास भएपछि त्यहाँको सेफहरुको मेनेजर नै भए । उनको मातहत ७० जनाले काम गर्थे । त्यतिबेलासम्म उनको कमाई महिनाको ४० हजार भारु भइसकेको थियो ।

भारतको पाँचतारे होटलमा काम गर्दै गएपछि उनलाई विदेश जाने इच्छा जाग्यो । त्यसका लागि उनले प्रयास पनि गरे । एक÷दुई पटक त्यसका प्रयास गर्दा उनको पैसा पनि डुब्यो तर प्रयास गर्न छाडेनन् । सन् २००९ मा मोन्टेनिग्रे पुगेका उनलाई त्यहाँ काम गर्न मन नलागेपछि फेरि भारत फर्किए । उनले भारत फर्केर फुड फेस्टिभल आयोजना गरे, जसको निकै चर्चा भयो । त्यो देखेर लण्डनको एउटा रेष्टुरेन्टले काम गर्नका लागि उनलाई बोलायो । सबै प्रकृया पुरा गरी उनी लण्डन पुगे । तर त्यहाँ उनले सोचेजस्तो काम गर्न पाएनन् । जे सोचेर गएका थिए, त्यो भएन त्यहाँ । भाँडा माझ्नेदेखि लिएर खाना पकाउनेलगायतका सबै काम गर्नुपथ्र्यो त्यहाँ ।

उनले अन्यत्र अवसर खोज्न थाले । विस्तारै उनी कार्यकारी सेफको रुपमा त्यहाँको पाँचतारे होटलसम्म पुगे । करिब १२÷१३ वर्षसम्म भारतमा काम गरिसकेका सन्तोष साहलाई लण्डनमा संघर्ष गर्न त्यति गाह्रो भएन ।

नेपाली खानाको प्रचार

लण्डनमा करिब १० वर्षको मेहनत र लगनशीलताका कारण उनी बीबीसीबाट प्रशारण हुने विश्वकै प्रतिष्ठित टिभी रियलिटी शो ‘मास्टर सेफ प्रोफेशनल युके २०२० च्यालेञ्ज’ को सेमिफाइनलमा पुगेका छन् । २० वर्षदेखि सञ्चालनमा रहेको उक्त प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सन्तोष साह पहिलो नेपाली हुन् । लन्डनको सिनामन होटेलमा कार्यकारी सेफको रुपमा कार्यरत सन्तोष साह नेपाली खानाको परिकार पस्केर सेमिफाइनलमा पुगेका हुन् ।

फाइनमा जान तीन÷चार राउण्ड अझै बाँकी छ । उनलाई आफू फाइनलमा पुग्ने विश्वास छ । उनी भन्छन्, ‘म यो प्रतिस्पर्धा जित्छु वा जित्दिनँ, त्यो बेग्लै कुरा हो तर नेपाली खानालाई विश्वभर चिनाउने मौका पाएँ, मेरो लागि त्यो नै ठुलो कुरा हो ।’

नेपाली खानाका परिकारलाई विदेशमा धेरैले साह्रै मन पराएको उनको अनुभव छ । त्यसलाई अझ परिस्कृत बनाएर विश्वसामु लैजाने आफ्नो सोच रहेको उनले बताए । उनले भने, ‘कतिपय अवस्थामा नेपालमै नेपाली खानालाई हेला गरेको देखिन्छ तर त्यही खाना मैले विदेशमा प्रदर्शन गर्दा सेमिफाइनलमा पुग्न सफल भएको छु । अब नेपालकै हिमाली भेगको खाना पस्किने मेरो तयारी छ, त्यसको लागि मैले निकै मेहनत गरिरहेको छु, मलाई विश्वास छ, म फाइनलमा पुग्छु र जित्छु पनि ।’

प्रतियोगितामा उनले पोलेको माछा, तिल र टमाटरको अचार, करेलाको अचार, आलुको अचार, जेरी, कुराउनी, बुन्दी, बुनियाँ, कुल्फी, फोफी, टिमुरको अचार, सिस्नु र आलुको तरकारी, भाङको अचार, कर्कलोको पातको तरकारी, विरिया, भेँडाको मासु, खसीको मासु, बेथेको साग, चिप्ले भिन्डी, तामाको आचार, माछाको रोटीलगायतका नेपाली परिकार उनले प्रदर्शन गरिसकेका छन् ।

घरको अवस्था

सुरुमा उनको घरको अवस्था राम्रै थियो । बुवा बितेपछि दाजुहरु अलग बस्न थाले । त्यसपछि सन्तोषको अवस्था खराब भएको थियो । अहिले भारत तथा लण्डनको कमाइले सन्तोषको अवस्था सुध्रिएको छ । सन्तोष लण्डनकै बासिन्दा भएका छन् । सन्तोषको अवस्था जसरी जसरी राम्रो हुँदै गयो त्यसरी नै उनका दाजुको मन बदलिँदै गयो ।

सन्तोषले लण्डनबाट पैसा पठाउन थालेपछि उनका दाजुहरुले आमालाई त्यतिकै स्यहार सुसार गर्न थाले । उनका एकजना दाजु अमेरिका बस्छन् भने तीनजना दाजु नेपालमै छन् । उनीहरुले नै अहिले आमालाई हेरचाह गरिरहेका छन् ।

सन्तोषले नेपालमै बिहे गर्ने सोच बनाएका छन् । उनको विवाहका लागि केटी खोज्ने काम भइरहेको छ । मास्टर सेफ प्रतियोगिता सकिएपछि नेपाल फर्किएर बिहे गर्ने सोच उनले बनाएका छन् ।

प्रतिकृया दिनुहोस्