हाम्रो देश
३ माघ २०७७, शनिवार

यति करोडमा बिक्यो पूर्व राष्ट्रपति ओबामाको हाई स्कूल जर्सी, बन्यो विश्व रेकर्ड

काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाद्वारा सन् १९७९ मा हवाईको पुनाहौ स्कूलमा बास्केटबल म्याचको क्रममा लगाइएको जर्सी लिलामी भएको छ । लिलामीमा यो जर्सी १ लाख ९२ हजार डलर (२ करोड २७ लाख रुपैयाँ) मा बिकेको छ । लिलामीमा बिक्ने हाई स्कूल जर्सीका लागि यो अहिलेसम्मको सबैभन्दा ठूलो बोली हो । जर्सीमा २३ नम्बर अंकित छ ।

सेवानिवृत्त एनबीएका दिग्गज माइकल जोर्डन, अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा र एनएफएल क्वार्टरब्याक कलिन केपरनिकले लगाएको जर्सीले शुक्रबार लिलामीमा विश्व रेकर्ड बनायो । शुक्रबार समाप्त भएको चार दिवसीय लिलामीमा एनबीए लस एन्जेलिस लेकर्स स्टार लेब्रोन जेम्सको जर्सी पनि समावेश थियो । स्मरण रहोस्, एनबीए अमेरिकामा बास्केटबल म्याच र सिरिज आयोजना गर्ने सबैभन्दा ठूलो संस्था हो ।

पाँच पटक एनबीए मोस्ट भ्यालुएबल प्लेयर र १४ पटक एनबीए अल–स्टार प्लेमेकरद्वारा लगाइएको कुनै पनि जर्सीका लागि यो रेकर्ड बोली हो । यो सेतो जर्सीलाई जोर्डनले आफ्नो पहिलो म्याचमा बुल्स क्लबको सदस्यको रुपमा लगाएका थिए । जोर्डनको जर्सीका लागि पहिले पनि रेकर्ड बोली लगाइसकिएको थियो । १८ जुलाईमा इन्डियानाविरुद्ध सन् १९९८ को एक म्याचमा लगाइएको जर्सीलाई २,८८,००० डलर (३ करोड ४० लाख रुपैयाँ) मा लिलामी गरिएको थियो ।

 

ओबामाको २३ नम्बरको सेतो जर्सी १,९२,००० डलरमा लिलामी गरियो । पूर्व राष्ट्रपतिले यो जर्सी सन् १९७९ मा पुनाहौ स्कूल हवाई राज्यविरुद्ध एक च्याम्पियनशीपको प्रतिस्पर्धामा टिम खेलाडीको रुपमा लगाएका थिए । कुने पनि हाई स्कूलको जर्सीका लागि यो सर्वाधिक मूल्य हो ।

यसका साथै कोबे ब्रायन्टले हस्ताक्षर गरेको एनबीए फाइनल जर्सी ३८,४०० डलरमा लिलामी गरियो । सन् १९५८ फिफा विश्वकपमा एक आधिकारिक टिमका कप्तानको आर्मब्यान्ड १०,२४० डलरमा बिक्रि गरियो ।

प्रतिकृया दिनुहोस्