हाम्रो देश
७ माघ २०७७, बुधवार

प्रधानमन्त्रीको गृहनगरमा डेढ अर्बको भ्यु टावर, अस्पताल, विद्यालय, सडक र नहर निर्माण अलपत्र

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सरकारले डेढ अर्ब लगानीमा सय मिटर अग्लो भ्यु टावर बनाउँदै छ ।

राष्ट्रिय गौरवको आयोजनामा समावेश १८ तले यो टावरको निर्माणले वरिपरिका सर्वसाधारणलाई भने हर्षभन्दा चिन्ता थपेको छ ।

भ्यु टावरको पश्चिमतिरको पर्खालसँगै जोडिएको टुकुरेबस्तीमा सय परिवार सुकुमबासीको बसोवास छ ।

०२२ देखि त्यहाँ बसोवास गरिरहेका उनीहरूले अहिलेसम्म जग्गाधनी प्रमाण पुर्जा पाएका छैनन् । टावर बन्न थालेदेखि उनीहरूलाई त्यहाँबाट लखेटिने चिन्ताले मात्रै सताउँछ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै चासो देखाएको छैन ।

टुकुरेबस्तीकी ६५ वर्षीया भीमकुमारी विकले आँगनमै भ्यु टावर ठडिएपछि बस्तीबाटै हटाउँछ कि भन्ने चिन्ताले राति निद्रा पनि नलाग्ने बताइन् ।

यही बस्तीमा जीवनका पाँच दशक बिताइसकेकी उनले भोगचलन गरेको १२ कट्ठा जग्गाको फिल्डबुक भए पनि जग्गाधनी प्रमाणपुर्जा पाएकी छैनन् ।

‘आँगनमा भ्यु टावर त बन्यो नि ! तर, हामीलाई हर्ष न विस्मात् ! जग्गा हुनेले जग्गाको भाउ पाए । उनीहरू धनी भए । हामी सुकुमबासीको के छ र !’ उनले भनिन्, ‘यहाँबाट पनि हटाउने रे भन्ने सुनेकी छु । यहाँबाट खेदायो भने यो उमेरमा कहाँ जानू ?’

स्थानीय राम भुजेलको चिन्ता पनि भीमकुमारीकै जस्तो छ । निर्माणाधीन भ्यु टावरको पर्खाल उनको घरसँगै जोडिएको छ ।

दमकका धेरै मान्छेले भ्यु टावरमा आर्थिक समृद्धि देख्दा उनीचाहिँ आफ्नै घर छोडेर हिँड्नुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

‘अस्ति पनि अलिअलि जग्गा भ्यु टावरमा पर्‍यो । अब घर बाँकी छ । यो पनि भ्यु टावरसँगै जान्छ कि भन्ने चिन्ताले मात्रै सताउँछ,’ उनले भने, ‘धेरैले हल्ला गर्छन्, यहाँबाट हामीलाई उठाउँछ भनेर । भ्यु टावर आएर जीवनस्तर राम्रो हुन्छ भन्थे, हामीलाई त चिन्ता मात्रै थप्यो ।’

वेलावेलामा बस्तीमा आउने अपरिचित व्यक्तिहरूका कुराले स्थानीयलाई झन् धेरै अत्यास बनाउँछ ।

उनीहरू त्यो क्षेत्रमा एउटै खालका होमस्टे बनाउने भन्दै गफ गर्छन् । ‘एउटैखाले होमस्टे बनाउने भन्छन् । हामी सुकुमबासीसँग त पैसा छैन, कसरी बनाउँला ? हामीले बनाउन नसके यहाँबाट लखेट्ने रे !’ स्थानीय रणबहादुर भुजेलले भने, ‘०२२ सालदेखि खुनपसिना बगाएर बसेका हामीलाई त्यत्तिकै लखेट्न पाइन्छ र ?’

टावर बनिरहेको आँपगाछी गाउँको अवस्था पनि उस्तै दयनीय छ । सडक धुलाम्मे छ । स्थानीयले पिउन शुद्ध पानी पाएका छैनन्, ट्युुबेलको पहेँलो पानी पिउन विवश छन् ।

स्वास्थ्य सेवा लिन ६ किलोमिटर पूर्व दमक बजार धाउनुपर्ने बाध्यता छ । जनसरोकारका यस्ता महत्वपूर्ण विषयभन्दा सरकारको प्राथमिकतामा भ्यु टावर परेको छ ।

‘हामीले भोट दिएका नेता प्रधानमन्त्री बने । यहाँ भ्यु टावर पनि बन्दै छ । तर, हाम्रो जीवनचाहिँ अभाव र चिन्तामै बितेको छ,’ स्थानीय दिलमा भुजेलले भनिन्, ‘न खानेपानी आएको छ, न त राम्रो बाटो नै बनेको छ ।

अहिले पनि हामी ट्युुबेलको पहेँलो पानी पिउन बाध्य छौँ । खुसी त जग्गा किनबेच गर्ने दलालहरू भएका होलान् । जग्गाको भाउ बढ्यो नि त !’

दमक– ३ का वडाध्यक्ष नवीन बरालले भ्यु टावरवरिपरिका सुकुमबासी विस्थापित नभएर स्थापित हुने बताए । ‘उहाँहरू त्यहीँ स्थापित हुनुहुन्छ ।

सहरी विकास कार्यालयमार्फत चलेको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत त्यहाँका विपन्नले अब घर छाउन चाँडै जस्तापाता पाउँदै छन्,’ उनले भने, ‘उहाँहरू ढुक्क भएर बसे हुन्छ । कसैले पनि उहाँहरूलाई हटाउँदैन ।’

नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्