हाम्रो देश
७ माघ २०७७, बुधवार

मेस्सी फर्किदा बार्सिलोना विजयी, एथ्लेटिको पुनः शीर्ष स्थानमा

एजेन्सी : लियोनेल मेस्सी पुनः टोलीमा फर्किएर विजयी गोलका लागि अवसर सिर्जना गरेपछि बार्सिलोनाले ला लिगाको पुछारको टोली हुएस्काविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।

बार्सिलोनाका लागि ७५० औँ तथा ला लिगामा ५ सयौँ खेल खेलिरहेका मेस्सीले फ्रांकी डि योङका लागि गोलको अवसर सिर्जना गरेका थिए । खेलको २७ औँ मिनेटमा गरिएको उक्त गोल नै खेलमा निर्णायक बन्यो ।

जीतसँगै बार्सिलोना ला लिगाको पाँचौ स्थानमा उक्लिएको छ । यद्यपि, एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिडभन्दा १० अंकले पछि परेको छ ।

उता खेलको अन्तिम मिनेटमा गोल गर्दै लुइस सुवारेजले एथ्लेटिको म्याड्रिडलाई आलाभेसमाथि २–१ को जीत दिलाएका छन् । जीतसँगै एथ्लेटिको लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको पहिलो हाफमा मार्कस लोरेन्टेले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, खेलको ८४ औँ मिनेटमा फिलिपेले आत्मघाती गोल गरेपछि खेल बराबरीतर्फ उन्मुख भएको थियो । त्यसपछि खेलको अन्तिम मिनेटमा जोआ फेलिक्सको क्रसमा सुवारेजले गोल गर्दै टोलीलाई तीन अंक दिलाए ।

जीतसँगै एथ्लेटिकोले रियल म्याड्रिडलाई शीर्ष स्थानमा पुनः २ अंकले उछिनेको छ । एथ्लेटिकोले रियलभन्दा २ खेल कम खेलेको छ ।

प्रतिकृया दिनुहोस्