हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

दाङमा प्रचण्ड–माधव समूहको आमहड्तालले यातायात ठप्प

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालले दाङको जनजिबन प्रभावित बनेको छ । आमहड्तालको प्रभाव दाङ र त्यस आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ । जिल्लाका प्रमुख बजार घोराही, लमही, तुलसीपुर पनि बन्द नै छन् । उद्योग कलकारखाना सबै बन्द छन्।

दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्। जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जबरजस्ती बन्द गराउन नपाइने भन्दै यदि त्यस्तो गरेमा प्रहरीले कानुन बमोजिम कारबाही गर्ने चेतावानी दिएका थिए ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले बिहानसम्म राजमार्गमा निजी सवारी साधन मात्रै फाट्टफूट्ट चलेको जानकारी दिए।

अहिलेसम्म बस समितिका सबै काउन्टर बन्द रहेको र कुनै बस सञ्चालनमा नआएको देखिएको उनले बताए । प्रहरीले अहिलेसम्म बजार पनि बन्द रहेको बताएको छ ।

आमहड्तालको पूर्वसन्ध्यामा बुधबार बेलुका प्रचण्ड– नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस प्रर्दशन गरेको थियो । उक्त समूहका जिल्लास्थित नेता टीकाराम खड्का, सुबास पुनले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए।

दुवै समूह उग्ररुपमा प्रस्तुत भए झडपको सम्भावना रहेकाले पनि यातायात र बजार सञ्चालन गर्न सर्वसाधारण डराएका हुन्। जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन्। ‘बन्द राम्रो कुरा होइन, बन्दको बिकल्प खोजौ, समर्थन भन्दा पनि यो सर्बसाधारणमा फैलिएको त्रासको रुपमा बुझ्नुपर्छ,’ नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले भने, ‘बन्दले लोकतन्त्र कमजोर हुन्छ, अर्थतन्त्रलाई असर पुर्याउछ ।’

प्रतिकृया दिनुहोस्