हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

प्रचण्ड-माधव पक्षले गर्‍यो सर्वोच्चको फैसलालाई स्वागत

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसात गरी तदनुरुप संविधानसम्मत फैसला गरेर प्रतिनिधिसभालाई मात्र बचाएको नभई संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छः ‘यो फैसलाले संविधानलाई लिकमा ल्याएको छ र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अँध्यारो सुरुङमा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षडयन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो ।’

विज्ञप्तिमा अदालतको यो निर्णयले फेरि एकपटक नेपालको अदालत सबै प्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि भएको दाबी गर्दै पार्टीले यसको उच्च मूल्यांकन गर्दछ भनिएको छ ।

प्रतिकृया दिनुहोस्