हाम्रो देश
१२ फाल्गुन २०७७, बुधवार

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुने छैन: प्रेस सल्लाहकार थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सर्वोच्च अदालतको फैसलालाई विवादास्पद भन्दै यसले राजनीतिक समस्या समाधान नहुने बताएका छन् । उनले फैसलापछि बरु अस्थिरता बढ्ने दावी समेत गरेका छन् । ‘सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ ।

यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ’ थापाले फेसबुक पेजमा लेखेका छन् ।

साथै थापाले प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेरै फैसला कार्यन्वयन गर्ने जनाएका छन् ।

सर्वोच्चको फैसलापछि ओलीले नैतिकताको आधारमा राजीनामा दिन्छन् कि भन्ने अड्कलवाजी भइरहेका बेला उनले सहजै राजीनामा नगर्ने बरु संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने संकेत पनि गरेका छन् । ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन’ थापाले भनेका छन् ।

प्रतिकृया दिनुहोस्