हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

नेपालीलाई आईफोन मर्मतको तालिम दिँदै एप्पल, यसरी बन्नुहोस् सहभागी

काठमाडौं। एप्पलले आईफोन, आईप्याड लगायतका आफ्ना डिभाइसहरुको मर्मतका लागि विश्वव्यापी रुपमा तालिम प्रदान गर्ने भएको छ । कम्पनीले इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडरका रुपमा यो कार्यक्रम अघि बढाएको हो।

यसमार्फत कम्पनीले आफ्नो डिभाइस मर्मतका लागि आधिकारिक तालिम प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१९ मै सुरु भएपनि विश्वव्यापी रुपमा विस्तार भएको थिएन।

अमेरिकाबाट सुरु भएको यो कार्यक्रम गत वर्ष क्यानडा र युरोपमा विस्तार गरिएको थियो । तर, अब भने कम्पनीले यो कार्यक्रम विश्वव्यापी रुपमै अघि बढाएको हो।

यसको उद्देश्य आफ्नो डिभाइसमा वारेन्टी सकिएपछिको मर्मतका लागि प्रयोगकर्तालाई सहजता होस् भन्ने हो । वारेन्टी भएका प्रयोगकर्ताको हकमा एप्पलको आधिकारिक मर्मत केन्द्रबाटै मर्मत हुने गर्दछ।

तर, वारेन्टीपछिको मर्मतलाई पनि व्यवस्थित र सहुलियत प्रदान गर्न कम्पनीले यस्ता तालिममार्फत स्वतन्त्र मर्मत सेवाप्रदायक बनाउँदै आएको छ।

यस्तो स्वतन्त्र मर्मत सेवाप्रदायकलाई कम्पनीले एप्पलका आधिकारिक स्पेयर पार्टस्, तालिम तथा स्रोतसाधन प्रदान गर्नेछ । यो तालिम नेपालसहितका २ सयभन्दा बढी देशमा खुला गरिएको छ।

यसरी तालिम दिएपश्चात एप्पल प्रयोकगर्ताले उक्त पसल तथा संस्थामा गएर आफ्ना डिभाइसहरु मर्मत गराउन सक्ने कम्पनीले जनाएको छ।

तालिममा सहभागी हुन कुनै शुल्क बुझाउनुपर्ने छैन । तर, याे तालिमपछि एप्पलका सम्पूर्ण डिभाइसको मर्मत गर्न सक्नुपर्ने हुन्छ । साथै एप्पलका आधिकारिक मर्मत केन्द्रबाहेक अन्यले यो तालिममा भाग लिन एप्पलस्तरको मर्मत दक्षता हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

यसमा सहभागी हुन कम्पनी आवश्यक हुनेछ । व्यक्तिगत रुपमा मात्रै यो कार्यक्रममा सहभागी हुन सकिने छैन । यो तालिमको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध हुनेछ । भने, इच्छुकले अनलाइनबाटै यसमा सहभागी जनाउन सक्नेछन्।

यो कार्यक्रममा एप्पलका आधिकारिक रिसेलरले सहभागीता जनाउन पाउने छैनन्।

यो तालिममा सहभागी हुनका लगि तपाईंले ईमेलमार्फत आफ्नो जानकारी पठाउनुपर्ने हुन्छ । तपाईंले पठाएको जानकारीको आधारमा एप्पलले त्यसमाथि अध्ययन गरी यदि तपाईंको कम्पनीले उक्त कार्यक्रममा सहभागी हुन मिल्नेछ भने थप प्रक्रिया अघि बढाउने छ। टेकपानाबाट

प्रतिकृया दिनुहोस्