हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

कर्णालीका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण पत्र पठाएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयले एक प्रेस विज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएको हो ।

कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सभा संसदीय दल कर्णाली प्रदेश गएको चैत्र ४ गते प्रदेश प्रमुख समक्ष पेश गरेको मुख्यमन्त्रीको लागि गरिएको समर्थन फिर्ता चैत्र ५ गते देखि लागू हुने गरी फिर्ता गरिएको पत्रको जानकारी ५ गते नै मुख्यमन्त्री शाही समक्ष जानकारी दिइएको थियो ।’

सोही अनुसार प्रदेश प्रमुख कलौनीको आदेशानुसार मंगलबार प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री शाहीलाई नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण गरिएको सम्बन्धको पत्र पठाएको छ ।

संविधान अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी भएको दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिन भित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ,‘यसरी राखिएको विश्वासको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित भएमा विद्यमान मुख्यमन्त्रीको नै निरन्तरता हुनेछ । यदि उक्त विश्वासको प्रस्ताव पारित हुन नसकेमा विद्यमान मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने गर्दछन् र सरकार गठनको थप प्रक्रिया शुरू हुने गर्दछ।’

प्रतिकृया दिनुहोस्