काठमाडौँ – नेकपा एकता भंग गर्ने सर्वाेच्च अदादलको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गरेपछि एमालेको ओली समूह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोशित देखिएको छ । प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई उल्टापाल्टा काम नगर्न चेतावनी दिनुभएको छ ।
ओलीका राजनीनिक योद्धा शंकर पोखरलले पनि एकता भंग गर्न भूमिका खेल्ने अनि अहिले आएर अदालतको दैलोमा किन उभिएको भन्दै प्रचण्डलाई प्रश्न गर्नुभएको छ ।
‘क. प्रचण्ड, एकता जोगाउने प्रयासलाई तपाईले उपेक्षा गर्नु भो । एकताको मर्म विपरित अन्तरविरोधमा खेल्नु भो। अब चै अदालतको दैलोमा किन?’ पोखरेलको प्रश्न छ ।
आज माआवादी केन्द्रले नेकपा एकता बदर गरेर एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने सर्वाेच्चको फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गराएको थियो । सर्वोेच्चमा पुनरावलोकनका लागि दलबलसहित पुग्नुभएका अध्यक्ष प्रचण्डले अदालतले फैसला सच्याउनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।
प्रचण्डले सर्वाेच्चको अप्राकृतिक फैसला सच्चिनेमा आफू विश्वस्त रहेको बताएपछि एमाले अध्यक्ष ओलीले अदालतले पार्टी एकता गरिदिने हो र? भन्दै प्रश्न गर्नुभएको हो । ओलीले नेकपा एकता बदर सर्वाेच्चले नभई प्रचण्ड र माधव नेपालहरुले नै गरेको जिकिर पनि गर्नुभयो । एकता बदर हुन बाँकी थियो र अदालतले भंग गरिदिनलाई’, रिपोर्टस क्लवको वार्षिकोस्तव समारोहबाट प्रधानमन्त्रीले प्रश्न गर्नुभयो । उहाँले अध्यक्षलाई पार्टीको साधारण सदस्यबाटै निकालिसकेपछि अरु कसैले एकता भंग गरिरहन नपर्ने आशय व्यक्त गर्नुभयो ।
यता राजनीतिक विश्लेषकहरुले भने माओवादी केन्द्रको पुनरावलोकन निवेदनले एमालेको माधव नेपाल समूहलाई राहत मिल्ने देखिएको बताएका छन् । माओवादीमा मिल्न नसकेको र एमालेमा भित्रिने ठाउँ नपाएको माधव समूहलाई पुनरावलोकनबाट ओत लाग्ने ठाउँ मिल्न सक्ने विश्लेषक पुरन्जन आचार्यले बताउनभयो ।
यदि अदालतले पुनरावलोकनमार्फत नेकपा एकता भंग गर्ने आफ्नो फैसला सच्याए एमालेको ओली समूहलाई अप्ठ्यारो पर्ने विश्लेषक आचार्यको बुझाई छ । कम्युनिष्ट एकताको नारा लगाएर प्रचण्ड र माधव नेपालले केपी ओलीलाई किनारा लगाउन सकिने सम्भावना देखिने उहाँले बताउनुभयो ।
तत्काल पार्टी एकजुट हुन सक्ने अवस्था नरहेका अवस्थामा माओवादीले किन पुनरावलोकनका लागि निवेदन दर्ता गराएको होला भन्नेमा धेरैको चासो छ । अदालतले फैसला सच्याएर माआवादी र एमालेको एकता कायम गर्न आदेश दिए पनि यी दुई पार्टी व्यवहारमा मिल्नै नसक्ने टिप्पणी कतिपयले गरिरहेका छन् ।
तर माओवादी केन्द्र पुनरावलोकनमा जानु भनेको एमालेको माधव समूहसँग मिलेर नयाँ पार्टी गठन गर्ने योजनाको पहिलो खुड्किलाको रुपमा बुझ्न सकिन्छ । किनभने केपी ओलीसँग तत्काल एकता सम्भव नरहेको स्वं प्रचण्डले नै लगातार बोलिरहनुभएको छ ।