हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

ओली प्रचण्डको लडाईमा माधव नेपाल चेपुवामा

काठमाडौं ।    नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जुंगे लडाईले अहिले देशको राजनीति नै संकटमा परेको छ । संसद राम्रोसंग चल्न सकेको छैन साथै केपी ओलीको सरकार ढल्ने हो कि निरन्तरता पाउने भन्ने टुंगो समेत लाग्न सकेको छैन । यो सबैको कारण केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ बिचको जुंगे लडाई हो ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले माओवादी केन्द्र पार्टीको अस्तित्व नै सक्ने गरि राजनीतिक कदमहरु चालिरहेका छन् । पछिल्लो राजनीतिक घटना क्रमहरुले प्रष्टाउँछ कि ओलीका कदमहरुले प्रचण्डको छटपटी बढ्दो छ तर प्रचण्ड अझै गलेका भने छैनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पनि जसरी हुन्छ ‘साम, दाम, दण्ड र भेद’ प्रयोग गरेर भएपनि केपी ओलीको सरकार ढालेर जसको हातमा पनि सुम्पिन तयार छन् । तर प्रचण्डलाई अहिले अवस्था सोचे जति सहज बनेको छैन ।

फुटबल खेलमा खेलाडी जसरी अन्तीम घडीसम्म गोल हान्ने प्रयास गर्छ त्यसरी नै अहिले प्रचण्ड जति नै लडे पनि अन्तीम एक गोलको प्रयासमा छन् । प्रचण्डलाई ओलीले अहिले छट्पटाउने अवस्थामा पुर्याएका छन् भने प्रचण्ड ओलीका नजिक रहेकाहरुसंग खेलेर ओली सरकार ढाल्ने प्रयत्नमा छन् तर अवस्था सहज देखिन्न ।

ओली प्रचण्डको जुंगे लडाईमा कसले जिते कसले हारे भन्ने मात्र छ नत्र दुवैको राजनीतिक अवस्था सेफ नै छ । ओली आफ्नो पार्टीको अध्यक्ष छन् भने प्रचण्ड आफ्नै पार्टीको अध्यक्ष । तर यी दुई अध्यक्षको लडाईमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल चेपिएका छन् । माधव नेपाल यसरी चेपिएका छन् कि उनको राजनीतिक अवस्था नै संकटमा छ ।

एमाले पार्टीबाट कारवाही भोगिरहेका छन् भने ओली विरुद्द लड्न समर्थन जुटाउने प्रयासमा कसरत गरिरहेका छन् तर साथ कसैको पाएका छैनन् । माधव नेपाल समूहका नेताहरु समेत अहिले माधव नेपाल माथी आश छोड्न थालेको बुझिएको छ । माधव नेपाल ले न प्रचण्डसंग मिलेर पार्टी गठन गर्ने हिम्मत गर्न सकेका छन् न एमाले भित्रै गएर ओली संग लड्न सकेका छन् । माधव नेपालले चालेका कदमहरु अहिले बालुवामा बनाएको घर जस्तो हुने देखिएको छ ।

प्रचण्डसंग निकट रहेर सल्लाह अनुरुप नै माधव नेपालले कदमहरु चालेको देखिन्छ जुन कुरा प्रचण्डका अभिव्यक्तिहरुले समेत पुष्टि गरिसकेको छ । तर प्रचण्डले माधव नेपाललाई बलियो बनाउने भन्दा कमजोर बनाउने गरि सुझाव दिएको विश्लेषकहरुले भन्न थालेका छन् । प्रचण्डले ओलीलाई टार्गेट गरेर माधव नेपाललाई मूभ गरेको कारण अहिले माधव नेपाल संकटमा परेका छन् ।

प्रचण्ड ओलीको जुंगे लडाईमा प्रयोग भएको पात्र बनेका छन् माधव नेपाल जसका कारण अहिले आफ्नै पार्टीबाट निलम्बन समेत हुन परेको छ । जति माधव नेपाल प्रचण्डसंग निकट हुन्छन त्यति केपी ओली उनी प्रति खरो तरिकाले प्रस्तुत हुने देखिएको छ जसका कारण अहिले माधव नेपाल चेपुवामा परेका छन् ।

प्रतिकृया दिनुहोस्